कोरोनाको खोप निर्माणमा अमेरिकालाई महत्त्वपूर्ण सफलता



३१ असार २०७७, काठमाडौं

अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ को खोपबाट मानिसको प्रतिरक्षा प्रणालीमा ठीक त्यस्तै फाइदा देखिएको छ, जसको आशा वैज्ञानिकहरुले गरेका थिए । अब यो खोपको अहम परीक्षण गरिनेछ । अमेरिकाका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले समाचार एजेन्सी एसोसिएटेड प्रेससँग भने, ‘तपाईंले यो कुरालाई जति काँटछाँट गरेर हेर्नुभयो भने पनि यो एउटा खुसीको खबर हो ।’ यो समाचारलाई न्यूयोर्क टाइम्सले पनि प्रकाशित गरेको छ ।

नेशनल इन्सिटट्यूट अफ हेल्थ एन्डा मोडेरना इंकमा डा. फाउचीका सहकर्मीहरुले यस खोपको विकास गरेका हुन् । अब जुलाई २७ बाट यो खोपको सबैभन्दा महत्त्वपूर्ण कदम सुरु हुनेछ जहाँ ३० हजार जनामाथि यसको परीक्षण गरिनेछ । यसबाट खोपले साँचिक्कै मानिसको शरीरलाई कोभिड–१९ बाट बचाउन सक्ने यकिन हुनेछ ।

मंगलबार शोधकर्ताहरुले ४५ जनामा गरेको परीक्षणको नतिजा जारी गरका थिए जसको निकै व्यग्रताका साथ प्रतिक्षा गरिएको थियो ।

परीक्षणमा सहभागीहरुको शरीरमा न्यूट्रलाइजिङ एन्टी बडी विकसित भएको पाइएको छ । यो एन्टीबडीले संक्रमण रोक्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा शोधकर्ताहरुले लेखेका छन्, ‘खोप लिएका स्वयम्सेवकको रगतमा त्यति नै एन्टीबडी पाइएको छ जति कोभिड–१९ बाट ठीक भएका बिरामीको शरीरमा पाइन्छ ।’

शोधको नेतृत्व गरिरहेकी डा. लिसा ज्याक्सनका अनुसार अबको परीक्षणले वास्तवमै यो खोपले संक्रमणबाट बचाउँछ या बचाउँदैन भन्ने यकिन हुने बताइन् । अहिले नै यो खोप कहिलेसम्म बनिसक्छ भन्ने यकिन भएको छैन । तर, यो वर्षको अन्त्यसम्ममा यसको परीक्षण पुरा हुने सरकारको अपेक्षा रहेको छ ।

यस खोपको दुई डोज दिइनेछ जसको बीचमा एक महिनाको अन्तर हुनेछ । यस खोपबाट गम्भीर साइड इफेक्ट पाइएको छैन । तर, परीक्षणमा सहभागीहरुमध्ये आधामा फ्लू जस्तो रियाक्सन पाइएको थियो । यो कुनै पनि खोप लिँदा असामान्य मानिदैन । खोपका कारण टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण सामान्य हुन् । तीन स्वयम् सेवक जसलाई बढी डोज दिइएको थियो, उनीहरुमा रियाक्सन अलि बढी देखिएको थियो । अब त्यो मात्राको परीक्षण गरिनेछैन ।

‘केही लक्षण कोरोनाभाइरसको संक्रमण जस्तै देखिन्छ । तर, त्यो अस्थायी हुन् । यो एक दिनसम्म रहन्छ र खोप लगाउने बित्तिकै देखिन्छ,’ शोधमा संलग्न चिकित्सकहरु बताउँछन् ।

यसरी धेरै मानिसमा परीक्षण सुरु गरिएको यो एक्लो खोप भने होइन । अक्सफोर्डको खोप र जोनसन एन्ड जोनसनको खोपको व्यापक परीक्षणको तयारी भइरहेको छ । स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्