कृषिमा युवा र उत्पादनमा आधुनिक प्रविधी



२८ असार २०७७, काठमाडौं/मनसिह धामी

यतिबेला सारा विश्व कोरोना भाइरस संक्रमणका कारण शून्य अवस्थामा छ । विश्वका शक्तिशाली धनी व्यक्ति र साझा बिहान हात मुख जोर्न धौ भएका नागरिक कोरोना संक्रमण हुन्छ कि भन्ने सन्त्रासमा बाँची रहेका छन् । यस्तो बेलामा पनि हुँदा खाने र हुने खाने व्यक्तिहरूको जमात प्रस्ट देखिन्छ ।

कोरोना भाइरसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा गएकाहरू धमाधम नेपाल फर्कन थालेपछि सामाजिक सञ्जालमा कृषिका कुरा जोडतोडले उठिरहेको छ । यतिबेला गाउँमा रहेका युवामा भने आफ्नै देशमा केही गरौँ भन्ने भाव पलाएको छ भने विदेशबाट फर्केकाहरूले पनि नेपालमै कृषि गर्नुपर्छ भन्न आकर्षण बढेको पाइन्छ । कृषिबाट सम्पन्न हुन नसके पनि आफूलाई खाना खान राम्रोसँग पुर्‍याउन सकिन्छ भन्ने पक्का परेको छ ।

बन्दाबन्दीले निम्त्याईरहेको विश्व बजारको मन्दीले धेरै युवा स्वदेश फर्कने निश्चित छ भने अधिकांश फर्किएका छन् । यो क्रम अझै बढ्दै जाने कुरामा दुई मत छैन । देश भित्र पनि शहरी क्षेत्रमा बस्ने पनि गाउँ नै ठिक भन्नेमा पुगेको छन् । गाउँबाट बजारमा व्यवसाय गर्न आएकाहरू समेत बन्दाबन्दीको सयमा गाउँमा गएर कृषि खेती गरेको तस्बिरहरू सामाजिक सञ्जालमा हालेका छन् भने शहरमा बस्नेहरू पनि घरको छतमा विभिन्न खेती गर्न थालेका छन् ।

देशका कतिपय बाह्य देश गएर दुःख पाएका युवाहरू कृषि पेशालाई आधार बनाएर अन्य कामहरू गरिरहेका छन् । तर कृषि गरेर पुर्ण रुपमा आत्मनिर्भर बन्न सकेका छैनन् । कृषकहरू असाध्यै परिश्रम गर्छन् तर त्यसको प्रतिफल भने सन्तोषजनक छैन । प्राकृतिक रूपमा आइपर्ने विपत्ति एकातिर छ भने अर्को उत्पादन भएका बस्तुहरूको बजारीकरणको समस्या हुनुले वास्तविक मूल्य पनि कृषकले पाएका छैनन् । आफ्नो उत्पादनको उचित मूल्य नपाउने किसान र असाध्यै चर्को मूल्यमा खरिद गर्ने उपभोक्ता दुवै मारमा परेका छन् । यदि किसानका उत्पादनलाई उचित मूल्य दिँदै उपभोक्तालाई पनि मारमा नपारी कृषि सामाग्री बिक्री गर्ने नीति ल्याउन सके खाद्यान्नमा हुने अनावश्यक खर्चलाई रोक्न सकिन्छ । ठाउँठाउँमा त्यस्ता समूह वा सहकारी नभएका होईनन् तर ती दुई दिनका लागि सञ्चालन हुने र विविध कारण देखाउँदै बन्द हुने नेपालको परम्परा बनेको छ ।

कृषि परिवेशबाट आएका हरेकले आफैँलाई प्रश्न गर्न जरुरी छ कि बाउ बाजेले गरेको कृषिलाई हामीले किन व्यावसायिक र उत्पादनमूलक तरिकाबाट गर्न सकेनौँ कहिलेकाहीँ सोच्दै जाँदा राज्यको व्यवस्था पनि कमजोर भएको पक्कै देखिन्छ । यदि सरकारले आधुनिक कृषि नीतिका साथ उत्पादनमूलक कृषिलाई बढवा दिएर युवालाई कृषिमा आकर्षण गर्न सकेको भए धेरै नेपालीले बिदेशीनु पर्थेन होला । छोराछोरी बिदेशीएपछि बाउले पाखुरा बजाएको भूमी पनि बाँझै बस्ने थिएनन् । नेपालमा कृषिको विकास हुने हो भने अन्य पेशाको तुलनामा कृषिले नै राष्ट्रलाई उठाउन मद्दत गर्ने पक्का छ । राज्यले कृषिमा अनुदान दिने गरे पनि वास्तविक कृषकले अनुदान नपाउने समस्या कायमै रहेको छ । खेती लगाउने चाँपाचाँपको अवस्थामा बिउ र मलको लागि यति बेला कृषक घण्टौँ लाइनमा बसिरहेका छन् । मल, बिउ अभावका बिच सहकारी र डिलरले मूल्य बढाउँदै गरेको दादागिरी किसानले भोगिनै रहेका छन् । स्थानीय सरकारले केही सहयोग गर्न त खोजेको छ तर पाँच कट्ठा खेत भएका किसानलाई जम्मा २ किलो धानको बिउ दिने र त्यसैमाथि नक्कली बिउले किसान डुबाउने काम त बर्सेनी भईनै रहेको छ ।

भौगोलिक रूपमा सानो मुलुक भए पनि विविध प्रकारको हावापानी भएको हुनाले सम्भावनाका हिसाबले कृषिमा नेपाल धनी मुलुक मानिन्छ । उचित प्रकारको हावापानी भएको हिसाबले यहाँ कृषि व्यवसायको प्रचुर सम्भावना छ । तराईका फाँटमा धान, मकै, गहुँ उखु, केरा खेती फस्टाउन सक्छ । तराईमा मलिलो भूमि र खेतीयोग्य हावापानी भएको हुनाले प्रशस्त मुनाफा गर्ने प्रकारका अन्नबाली लगाउन सकिन्छ । सिँचाइलाई कम लागतमा खेतका गरा गरामा पुर्‍याउन सकिन्छ । पहाडी तथा तराई क्षेत्रमा ठूला तथा सम्भावना बोकेका नदीका कारण कृषिलाई सञ्चित गर्न र विद्युतीय माध्यमबाट खेती गर्न सकिने सम्भावना छ । त्यसैगरी हिमाली क्षेत्रमा जडीबुटीको उत्पादनले देशको आर्थिक स्तर सहजै माथि उस्कने अड्कल नभएका होइनन् । मुलुकको दीगो आर्थिक विकासका साथै बलियो ग्रामीण अर्थतन्त्रलाई उपलब्धिमूलक बनाउन सकियो भने देशको गरिबी निवारणमा टेवा पुर्‍याउन गाह्रो छैन ।

वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर विकासको दिगो लक्ष्यमा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मन्तव्यमा दिगो विकास र समृद्ध नेपालका लागि कृषिमा आधुनिकीकरण हुनुपर्नेमा सधैँ जोड दिएका छन् । सरकारले नेपालले कृषिमा फड्को मार्न सक्ने बताइरहँदा अन्ततोगत्वा देशले कृषि उत्पादनमा नयाँ विधि प्रणालीका साथ अघि बढ्नुको विकल्प नहुन सक्छ । कृषि र किसानलाई प्रोत्साहन र सुरक्षा ग्यारेन्टीको प्रबन्ध मिलाउन सके मात्र कृषि व्यवसायले गति लिन सक्छ ।

नेपालमा कृषि क्षेत्रमा माथि उकास्न आधुनिक किसिमको प्रविधि भित्र्याउन र युवाको जनशक्तिलाई कृषिमा जोड्न सकेको खण्डमा हामी आर्थिक समृद्धितिर अघि बढ्छौँ । देशको अर्थतन्त्र उकालो लाग्नेमा द्विविधा छैन । कृषि पेशालाई हरेक नेपालीको आशाको केन्द्रको रूपमा लिँदै आए पनि यसले आशातीत प्रतिफल दिन नसक्नुको पछाडि धेरै कारण छन् । कृषिप्रधान देश भए पनि कृषि व्यवसायलाई उचित अवसर र मूल्याङ्कन नगरिनु यसको प्रमुख समस्या हो । अझै पनि कृषिलाई केवल कागजी नीति नियममा सीमित राख्ने परिपाटी छ । कृषि पेशालाई हालसम्म सम्मानित पेशा बनाउन सकिएको छैन । हामी नेपालीलाई विदेशीको गुलामी गर्न मन्जुर छ, तर स्वदेशमै बसी कृषि कर्म गर्न स्वीकार्य छैन । विदेशमा पसिना बगाउन तयार हामी, नेपालमा कृषि गर्न तयार हुँदैनौं ।

प्रतिक्रिया दिनुहोस्