थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो



२४ असार २०७७, काठमाडौं

नेपालमा थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताए ।

यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनहरुमा २५ हजार ४० रहेका छन् ।

सरकारले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ ।

केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्