
३० जेठ २०७७, काठमाडौं/समिना न्यौपाने
कोभिड–१९ को महाब्याधीको कारण विश्वकै शिक्षा क्षेत्र तहसनहस भइरहेको अवस्थामा नेपाल जस्तो सानो अनि परनिर्भर मुलुकमा हलचल न आउने कुरै भएन ।
विश्वका बालबालिका साथै नेपालका करिब ४०४७१८ विद्यार्थी शिक्षाबाट बञ्चित भएका छन् । यो अवस्था कहिलेसम्म भनेर निर्क्यौल गर्ने अवस्था पनि रहेन् अब । दिनानुदिन बढ्दै गएको सङ्क्रमितको संख्या हेर्दा अझै बिद्यालय क्षेत्र खुल्ने अवस्था छैन । यस्तो अवस्थामा निजी स्कूलले सुरु गरेको अनलाइन कक्षा स्रहानीयनै देखिन्छ । यो महाब्याधीको कारण बालबालिकामा कुनै किसिमको बिकराल अवस्था नआओस् भन्नका लागि अनलाइन कक्षा एक साधन हो । तर के देशका दुर दुराजमा छरिरहेका बालबालिकालाई समेट्न सकिएला ? या अनलाइन कक्षा शहर केन्द्रित हुन ? के सहज पहुँच छ प्रविधीमा ग्रामीण क्षेत्रका बालबालिका साथै अभिभाबकमा ? यस्ता थुप्रै प्रश्नहरुलाई नजर अन्दाज गर्न सकिन्न ।
देशको प्रतिमान नै परिवर्तन गर्नुपर्ने अबको पहिलो आवश्यकता हो । त्यसमा पनि शिक्षा क्षेत्रमा आधुनिकतामा आधारित पुर्नजागरण सुरु गरिहाल्नु पर्ने देखिन्छ । बिकसित देशमा अभ्यास भई सकेको प्रबिधी मैत्री कक्षाहरु हाम्रो देशमा सिरकको खोल जस्तो रहेको छ । किनकी हामी कती प्रबिधीमैत्री छौं ? कती को सहज पहुँच छ प्रविधीमा ? यदी छैन भने त्यो सिप बिकासमा सहयोग कस्ले गर्ने ? सरकारले, सम्बन्धित स्कूलले या व्यक्ति स्वयमले ? पौडी खेल्न नजान्ने ब्यक्तिलाई जबरजस्ती समुन्द्रमा लगेर पौडी खेल भन्दा कस्तो अवस्था सिजना होला हामीले अनुमान लगाउन सजिलै सक्छौं ।
हाम्रो लागि अनलाइन कक्षा बिल्कुल नयाँ अभ्यास भएको अवस्थामा विद्यार्थी र अभिभावकको मनोदशा त बुझौंला तर निजी स्कूलमा अध्यापनरत शिक्षकको मनोदशा कस्ले बुझ्ने ? सरकारले विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण बिद्यालय चैत्र ५ भित्र सक्नुपर्ने घोषणाको आत्मसाथ गर्दै प्रत्येक स्कूलले प्रत्येक विद्यार्थीसँग चैत्र महिनाको शुल्क सहित परीक्षा संचालन गरेको अवस्थामा पनि लकडाउनको समस्या देखाएर जेठको अन्त्य सम्मपनि आफूले काम गरेको पारिश्रमिक नपाउँदा एक शिक्षकले आफ्नो गुजारा कसरी गरिरहेको होला ? एकातिर चर्को मूल्यबृद्धिले दैनिकी धान्नै मुस्किल पारिरहेको छ भने अर्कातिर घरको भाडा तिर्न नसकेर घरबेटीले घरबाट निकाल्न सक्ने अवस्थाको मनस्थितीमा कहाँबाट नेटको जोहो गर्नु, गरिहालेपनी काम गरेको त पारिश्रमिक नपाएको अवस्थामा अनलाइन कक्षाको आशा कहाँ गर्नु । यती बिचलित शिक्षक अनलाइन कक्षाप्रती कती आकर्षित होला ? पढाइ कती प्रभावकारी रहला ?
सरकारले हरेक विद्यालयले सार्वजनिक बिदा सरह लकडाउनलाई मान्नुपर्ने र सम्पूर्ण शिक्षकलाई पारिश्रमिक दिने घोषणा गरेसँगै शिक्षकहरु सुते भन्ने आरोप पनि सुन्न पाईएको छ । भनिन्छ यदी शिक्षक दौडे भने विद्यार्थी हिड्छन, शिक्षक हिडें भने विद्यार्थी बस्छन् । शिक्षक बसे भने विद्यार्थी सुत्छन् । शिक्षक निदाए भने ? स्थिती कस्तो भयावह रहला ? एकपल्ट बिचार गरौं त ?
नेपालका निजी बिद्यालयहरु तीन प्रकारका छन् । उच्च बर्गमा केन्द्रित महँगो शुल्क लिने महंगा स्कूल, मध्यम बर्गका केन्द्रित मध्यम अनि निम्न बर्गका स्कूल । उच्च बर्गका लागि जुनसुकै अवस्थामा पनि परिस्थिती सामान्य रहला तर मध्यम बर्गका मनिसका अवस्था निम्न बर्गमा पुगेको अहिलेको अवस्थामा निम्न बर्गको अवस्था कस्तो रहला ? अनि दिनको छाक टार्न नै दयनीय रहेको परिस्थितिमा अनलाइन कक्षाले कती सार्थकता पाउला ?
नेपालका सि ग्रेडको बर्गीकरणमा रहेका स्कूलहरु एकजना ब्यक्तिबाट संचालित भएको हुँदा शिक्षा उत्पादनमुखी रहनु पर्नेमा उपभोक्ता बिल्कुल नाफामुखी बन्दै गईरहेको अवस्थामा कतै अनलाइन कक्षा नी कमाइ खाने बाटो त होइन ? यदी दैनिक जिविकोपार्जनको लागि अर्को पारिश्रमिकको खोजिमा रहनु पर्ने बाध्यता शिक्षकलाई रह्यो भने अबको हाम्रो शिक्षा कतातिर जाला ?
मुर्धन्य ब्यक्तिहरु थुप्रै पेशाको बारेमा तिनीहरुको वयल बिईङको पक्षमा बिचार बिमर्श ब्यक्त गरिरहेको अवस्थामा शिक्षकहरुको पनि वयल बिईङको बारेमा पनि ध्यानाकर्षण गर्ने होकी ?





