भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालन गर्न माग



१५ जेठ २०७७, काठमाडौं

कोरोना परीक्षण गराउनेको सङ्ख्या बढेपछि भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालनमा ल्याउन जिल्लाका अस्पतालले माग गरेका छन्।

सङ्क्रमणको जोखिम बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पतालको सेवा सुस्त भएको अहिलेको समयमा नियमित सेवा सञ्चालन गरेको भक्तपुर अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्नेको सङ्ख्या बढ्दै गएकाले पिसिआर ल्याब सञ्चालनमा ल्याउन जिल्लाका अस्पतालले माग गरेका हुन्।

भक्तपुर अस्पताललाई सरकारले जिल्लाको कोभिड १९ अस्पतालका रुपमा घोषणा गरे पनि पिसिआर ल्याब नहुँदा यहाँ सङ्कलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउँदै आएको छ। टेकुस्थित उक्त ल्याबमा कोभिड–१९ को परीक्षण गर्नेको भीड र अन्य जिल्लाबाट आउने स्वाब बढेपछि परीक्षणमा पठाएको एकसातामा मात्रै रिपोर्ट आउँदा झन जोखिम भएको जिल्लाका सरकारी अस्पतालको भनाइ छ।

भक्तपुर अस्पतालमा पिसिआर ल्याब नहुँदा सँगैको मिर्गौलाको उपचार एवं प्रत्यारोपण गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सरको उपचार हुने भक्तपुर क्यान्सर अस्पताल नियमित सञ्चालन भइरहेकाले यहाँ आएका जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीको कोरोना भाइरस परीक्षण गर्न समस्या भएको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा डा प्रेमराज ज्ञवालीले केन्द्रमा नियमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिरहेको बताउँदै शङ्कास्पद बिरामीमा कोरोना सङ्क्रमण भए/नभएको परीक्षण गर्न पिसिआर ल्याब सञ्चालन अत्यावश्यक रहेको बताए।

जिल्लामा पिसिआर ल्याब नहुँदा क्यान्सरका बिरामीको उपचारमा समस्या परेको भक्तपुर क्यान्सर अस्पतालका प्रशासक राजाराम तजलेले बताए।

प्रतिक्रिया दिनुहोस्