‘घर बहालमा बस्नेलाई भाडा छुट गर्न आवश्यक छ’ : अध्यक्ष खनाल



१४ जेठ २०७७, काठमाडौं

घरबहाल सरोकार महासंघ नेपाल केद्रिय अध्यक्ष अधिवक्ता बलभद्र खनालले घर बहालमा बस्नेलाई घरभाडा छुट गर्न आवश्यक रहेको बताएका छन् ।

घर बहालमा बस्नेको हक अधिकारको विषय र घर बहालमा दिनेहरुको विषयमा वकालत गर्दै आएको घरबहाल सरोकार महासंघ नेपालले घर बहालमा बस्नेलाई भाडा छुट गर्न आग्रह गरेको छ । अधिवक्ता खनालले भने, ‘घर भाडामा लिनेदिने दुबैले एक अर्काको सम्मान गर्नुपर्दछ र समस्या परेको परिस्थितिमा सहयोग पनि गर्नुपर्छ ।’

कोरोना भाईरस कोभिड १९ का कारण भाडामा बस्नेहरुलाई समस्या परेकोले घरबहाल सरोकार महासंघ नेपालले बहालमा बस्नेलाई घर भाडा छुट गर्न सरकारलाई आग्रह गर्दे चैत १ गते रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी आवश्यक सुझाव दिंदै सरकारको ध्यानाकर्षण समेत गराएको थियो । हालको विषम् परिस्थितिलाई मध्यनजर गर्दै सक्नेले एक महिनाको अथवा समस्या पर्नेले ५० प्रतिशत घरभाडा छुट गर्न एक किसिमको नीति बनाउन सरकारलाई अग्रह गरेको थियो ।

सरकारले पनि केहि घरभाडा मिनाहा गर्न तथा ५० प्रतिशत घरभाडा छुट गर्न जनतालाई आग्रह गर्यो तर पूर्ण रुपमा लागु गर्न सकेन । यसमा हामी घरबहाल सरोकार महासंघ नेपालले ध्यानाकर्षण गर्दै घर बहाल छुट हुनुपर्ने हाम्रो माग हो, हामी यसलाई जोड दिन्छौं अध्यक्ष खनालले भने । सरकारले घरबहाल छुटको आग्रह गरी राष्ट्रिय सरोकारको विषय मान्नु र भाडा छुट गर्न आग्रह गर्नु पनि ठूलो कुरा हो यसमा घरबहाल सरोकार महासंघ नेपालले सरकारलाई विशेष धन्यवाद व्यक्त गरेको छ ।

कोरोनाका कारण विभिन्न स्थानमा पढ्न बस्ने विद्यार्थी, छोराछोरीको भविष्य उज्वल पार्नको निम्ति पढाउँदै बिहान बेलुका छाक टार्न धाउधाउ हुनेहरु, जीविकोपार्जन गर्दै आएका मजदुर तथा श्रमिकलाई पूर्ण रुपमा घरभाडा छुटको कार्यान्वयन अनिवार्य गर्न अवश्यक छ ।

घरभाडा मानव अधिकारसँग जोडिएको हुनाले यसबारे कानुन तथा नीति बनाउन महासंघले सरकारलाई ध्यानाकर्षण गराउने र यसबारे के कस्तो बनाउँदा उचित हुन्छ यस विषयमा छलफल गर्दै आएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीको यस विषम् परिस्थितिमा विभिन्न ठाउँमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीबाट कोरोना सर्छ भन्दै घर बहालमा बस्नेलाई त्यहाँबाट निकाल्न दवाब गरियो भन्ने किसिमका समाचार सुनियो त्यो दुखद् घटना हो । त्यस किसिमको अमानवीय व्यबहार प्रति घरबहाल सरोकार महासंघ नेपाल गम्भीर ध्यानाकर्षण गर्दछ । त्यस्तालाई कारवाहीको दायरामा ल्याउन समेत पछि हट्न नहुने किसिमका नीति बन्न आवश्यक छ अध्यक्ष खनालले भने ।

विभिन्न किसिमका समस्याको पहिचान गरी समाधानको लागि कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै घर बहाल समन्वय समिति स्थानीय निकायमा गठन गर्न आवश्यक रहेको समेत प्रष्ट पारे । स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासनका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय सहितको समिति बनाएर स्थानीय निकायले भाडामा बस्ने तथा वास्तविक समस्यामा परेकालाई निष्पक्ष रुपमा राहत वितरण गर्दा निकै सहज हुने बताए ।

एग्रिमेन्ट गर्ने व्यवस्था अनिवार्य नभएका कारण विभिन्न किसिमका उद्योग व्यवसाय समस्यामा परेका छन् । व्यवसाय गर्नेलाई व्यवसाय हेरेर आवश्यकता अनुसार ५/१०/१५ वर्षे एग्रिमेन्ट गर्न जरुरी छ । त्यसकारण घरभाडा सरोकार महासंघले व्यवसायलाई विशेष किसिमको नीति नियम बनाएर घरभाडामा लिन र दिन सुझाएको छ । समय अवधि नपुग्दै घर किनबेच हुने भएका कारण व्यवसायीले घरभाडा छोड्न बाध्य बनाईने खालका समस्याको दीर्घकालिन रुपमा सोच्नु पर्ने भएको छ । कर्मचारी र विद्यार्थीलाई कम्तिमा पनि २ वर्ष भाडामा बस्ने समय निर्धारण गर्नुपर्छ । घरभाडा एडभान्स दिनुपर्छ भन्ने गैर कानुनी कुरा हो त्यसो गर्नु सरासर झुट हो । एडभान्स लिने र कोठा छोड्दा एडभान्स फिर्ता नदिने खालका गैर कानुनी प्रचलन निकै सुनिन्छ त्यो गर्न पाईन्न ।

घर बहालमा बस्नेलाई राज्यले फरक नीति बनाउनुपर्छ । घर बहाललाई व्यवसायिक रुपमा दर्ता गराउनुपर्छ । त्यसले स्थानीय निकायलाई आम्दानीको श्रोत हुन्छ यो राज्यले बुझ्न आवश्यक छ । घर बहालमा बस्नेको तथ्याङ्क संकलन गरि बास्तविक रेकर्ड खोजी गर्ने तथा घर बहालमा बस्ने र राख्नेले कर तिरे नतिरेको विषयमा छुट्याउन सहज हुन्छ । घर बहालमा लाउनेलाई करको दायरामा ल्याउन पर्ने, लिने र दिनेको स्थानीय निकाएमा रेकर्ड राख्ने, लगायतका काम गरेमा अनावश्यक किसिमका विवाद समाधानमा सहजता आउने तथा लिने र दिने दुबै सुरक्षित हुनेछन् । घरबेटीका केही माग पनि राज्यले सम्बोधन गर्न आवश्यक रहेको छ ।

ईटहरी नगरपालिकाले भाडा छुट गर्ने निर्णय गरेको छ र काठमाडौंमा पनि धेरैले छुट दिएका छन् तिनिहरुलाई आफ्नो व्यक्तिगत र महासंघको तर्फबाट धन्यवाद दिए । यो विषम परिस्थितिलाई मध्यनजर गर्दैै घरभाडा छुट दिनु मानवीय व्यवहार देखाउनु र तिनीहरु वास्तबमै सामाजिक अभियन्ता हुन् भन्दै सम्पूर्णलाई धन्यवाद दिए र छुट नदिनेलाई समेत छुट दिन आग्रह गरेका छन् ।

घरबहाल सरोकार महासंघ नेपाल २०७२ सालमा दर्ता भएको हो । केद्रिय अध्यक्ष अधिवक्ता बलभद्र खनाल २०७६ साल फागुन १६ र १७ गते भएको दोश्रो अधिवेशनबाट निर्विरोध रुपमा चयन भएका थिए । पाल्पाको रामपुर नगरपालिका वडा नं ३ घर भएका बलभद्र खनाल वि.सं. २०२४ साल फागुन ०४ गते जन्मिएका थिए । सामान्य परिवारमा जन्मिएर पनि सुखदसँग बाल्यकाल बिताएका केद्रिय अध्यक्ष हुन् अधिवक्ता बलभद्र खनाल । विगतबाटै समाजसेवामा लागि परेका खनाललाई घरबहाल सरोकार महासंघ नेपाल केद्रिय अध्यक्षमा सहजै रुपमा चुनिए ।

प्रतिक्रिया दिनुहोस्