०५ जेष्ठ २०७७, काठमाडौं
परीक्षणको गति तीब्र पारिएसँगै प्रदेश २ मा संक्रमित थपिने क्रम बढ्दै गएको छ । हालसम्म सबैभन्दा बढी संक्रमित प्रदेश २ मा फेला छन् ।
सोमबार बिहान रौतहटमा ८ र बारामा १ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । यसअघि आइतबार मात्र रौतहटमा १० जना संक्रमित भेटिएका थिए।
सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश २ मा मात्रै कोरोना संक्रमितको संख्या एक सय ३१ पुगेको छ । प्रदेश २ का आठवटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
प्रदेशमा सबभन्दा बढी संक्रमित पर्सा र रौतहटमा छन् । पर्सामा तीन भारतीयसँगै ९१ जना र रौतहटमा २१ जनामा कोरोना संक्रमण भेटिएका छन् ।
त्यसैगरी धनुषामा ६, महोत्तरीमा ४, बारामा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १–१ जना कोरोना संक्रमित फेला परेका प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।
उनका अनुसार संक्रमितहरुको उपचार वीरगञ्जको नारायणी उपेक्षेत्रीय अस्पतालको आइसोलेशन, वीरगञ्जकै सिद्धर्थ स्कुलको आइसोलेशन, प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन र सप्तरीको राजविराज स्थित सगरमाथा अस्पतालको आइसोलेशनमा भइरहेको छ ।
अहिलेसम्म भेटिएकामध्ये अधिकांश कोरोना संक्रमित भारतबाट आएका छन् ।
|फाइल तस्वीर|





