
०३ जेष्ठ २०७७, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्युबारे विस्तृत अध्ययन थालेको छ ।
शनिबार (आज) स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ज्वरो र श्वासप्रस्वासमा समस्या आएर उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको कोभिड–१९ सँग सम्बन्धित परीक्षण भइरहेको जानकारी दिए ।
सिन्धुपाल्चोककी २९ वर्षीया महिलालाई गत २३ वैशाखमा टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना भएको र २४ गते नर्मल डेलिभरी भएको थियो ।
२५ गते डिस्चार्ज भएर घर फर्किएकी उनलाई ज्वरो, श्वासप्रश्वास समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएकी थिइन् ।
गत बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी उनको मृत्यु भएको छ ।





