नयाँ आशा : बाँदरमा गरिएको परीक्षणबाट कोरोनाविरुद्धको खोप तयार गर्न सकिन्छ



०३ जेष्ठ २०७७, काठमाडौं

वैज्ञानिकहरूले मकाक प्रजातिका बाँदरमा गरेको एक खोप परीक्षणमा कोभिड १९ (कोरोना भाइरस)विरुद्धको लडाइँमा सफलता मिल्ने आशा गरेका छन् ।

उक्त प्रजातिका ६ वटा बाँदरमा गरिएको परीक्षणमा सकारात्मक नतिजा आएको वैज्ञानिकहरूको दावी छ । मानिसमा पनि क्लिनिकल परीक्षण गर्ने तयारीमा रहेका वैज्ञानिकहरू सकारात्मक परिणामको आशामा देखिन्छन् ।

पहिले बाँदरको एक समूहलाई सार्स कोभ २ को संक्रमण गराइएको थियो । अनि लगत्तै खोप दिइएको थियो । त्यसरी खोप दिइएका बाँदरको फोक्सो र श्‍वासनलीमा भाइरसको मात्रा कम पाइएको छ ।

बीबीसीका अनुसार यो परीक्षण अमेरिकामा गरिएको हो । र, यसमा अमेरिकी सरकारको नेसनल इन्स्टिच्युट अफ हेल्थ तथा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डका वैज्ञानिकहरू सहभागी छन् ।

उक्त खोपले निमोनियाबाट जनावरलाई बचाउन पनि सहयोग पुग्‍ने वैज्ञानिकहरूको भनाइ छ । बाँदरको ‘रेसस मकाक’ प्रजाति र मानिसको रोग प्रतिरोधात्मक प्रणाली एकै प्रकारको हुन्छ ।

यो अध्ययनलाई अन्य वैज्ञानिकहरूबाट समीक्षा गराइएको छैन । तर, लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल साइन्सका प्राध्यापक स्टेफन इभान्सले ‘उच्च गुणस्तर’ र ‘धेरै उत्साहवर्द्धक’ समाचारका रूपमा अर्थ्याएका छन् ।

अक्सफोर्ड युनिभर्सिटीमार्फत एक सय जनाभन्दा बढी स्वयंसेवकमा खोपको परीक्षण भइरहेको छ ।

|फाइल सांकेतिक तस्वीर|

प्रतिक्रिया दिनुहोस्