फर्केर हेर्दा : निर्मल लामाको जीवन



२८ बैशाख २०७७, काठमाडौं/गोविन्द प्रसाद दुलाल

दार्जलिङ जिल्लाको खर्साङ सब–डिभिजन कफीबारी, गोदामधुरा गाउँको चियाबगानको बस्तिमा एउटा बालकको जन्म भयो, १९८६ माघे संक्रान्तिका दिन । आमा म्हेन्दु लामा र बावु हर्कमान लामाको माहिलो सन्तानको रुपमा जन्मेको यस बालकको न्वारान गरियो–तेजबहादुर लामा भनेर । यिनका पुर्खा–बराजुहरु कुनै समय नेपालको पुर्व १ नं. काभ्रेपलाञ्चोकबाट यता दार्जीलिङतिर आएका थिए । त्यसताका भारतमा अंग्रेजहरुको शासन थियो । प्रवासी र सुकुम्बासी जीवनमा अभ्यस्त भइसकेका बालकैदेखि मिलनसार, सहयोगी अनि अलमस्त स्वभावको थियो । त्यसैले साथीहरु लगायत स्कूलका गुरुहरुले पनि उसलाई मस्तराम नै भन्थे । मस्तराम टोलछिमेक र स्कूलमा समेत निकै लोकप्रिय थियो । सेन्ट्रल फनसस ईङगलिस हाईस्कूल बाट आठ कक्षा पास गरिसक्दा मस्तराम १९ बर्षको लक्का जवान भइसकेका थिए ।

त्यसताका नेपालमा राणा विरोधी आन्दोलन मुखर हुन थालिसकेको थियो । डोनाल्सको आतिथ्यमा रहेकै बेला एकदिन उनको भेट नेपाल प्रजातन्त्र काँग्रेसका अध्यक्ष सूर्यबाबु अर्थात सूर्यप्रसाद उपाध्याय र महासचिव राजाबाबु अर्थात महेन्द्रविक्रम शाहसँग भयो । “राणाहरुसँग लड्नको निम्ति त माहात्मा गान्धिको अहिंसा परमो धर्म भन्ने कुराबाट काम चल्दैन । हामीले त हतियारै उठाउनुपर्छ ।” तेजबहादुरका कुरा सुनेर उनीहरु जिल्ल परे, अचम्म माने । उनीहरुको अहिंसावादी बाटोलाई यी युवक त्यती भरपर्दा नहोलान तर नेपाली क्रान्तिका लागि यिनको आवश्यकत्ता छ भन्ने ठानेर होला तिनीहरुले उनलाई कलकत्ता बोलाए । सुवर्ण शमशेरसँग भेट गराइदिए । त्यसताका सुवर्ण शमशेर कलकत्तालाई केन्द्र बनाएर नेपाली राष्ट्रिय काँग्रेसको नेतृत्व गरिरहेका थिए र नेपालमा राणाविरोधी आन्दोलनको प्रचारप्रसार गरिरहेका थिए । उनमा भएको लडाकू भावना, विद्रोही स्वभाव, आत्मबल र क्रान्तिप्रतिको समर्पण भावबाट प्रभावित भएरै सुवर्ण शमशेरले निर्मल लामालाई पुरन सिंह, जि.वि.याक्थुम्बा, दिलमान सिंहहरुसित मिलेर जनसेना गठन गर्ने र संचालन गर्ने काम सुम्पे र लगत्तै उहाँ जनसेनामा भर्ति गर्ने जवानहरु बटुल्न दार्जीलिङ फर्कनुभयो । उहाँले आफ्ना जेठा दाइ नरेन्द्र लामालाई समेत जनसेनामा भर्ति गरेर राणाविरोधी संघर्षमा आफ्नो मात्र होइन, परिवारको पनि सक्रिय सहभागिताको विस्तार गर्नुभयो । यसरी निर्मल लामा नेपालको राजनीतिमा एउटा मुक्तियोद्धाको रुपमा जनसेनामा प्रवेश गर्नुभयो । क्रान्ति गर्न खटिएको जनसेनालाई क्रान्तिको शुरुवात समेतै पनि नगरी घर फर्काउने कुरो त्यस टोलीका कमान्डर रहेका निर्मल लामालाई पटक्कै चित्त बुझेन । “म सेना होइन जनसेना हुँ, क्रान्तिकारी सेना हुँ । यदि कमान्डरले गल्ति गर्छ भने क्रान्तिकारी सेनाले विद्रोह गर्छ ।” निर्मल लामा झन दृढताका साथ विद्रोहमा मात्र उत्रनु भएन, क्रान्तिलाई तत्काल रोक्ने निर्णय केन्द्रिय नेतृत्वको गलत निर्णय हो भन्ने आफ्नो असहमति पनि जाहेर गर्नुभयो । स्टेगन त विग्रेको रहेछ, त्यसैले त्यो बाटोमा मिल्काए र पटाकाहरु मात्र बोकेर १८ जनाको त्यो विद्रोही जनसेना स्याङजा–नुवाकोट कब्जा गर्न सुरिएर नेपाल पस्यो ।

२००७ सालको क्रान्ति शुरु हुनुअघि उहाँलाई विश्वेश्वर प्रसाद कोइरालाले पटना बोलाए पनि स्याङजा, पोखरा, बन्दिपुर, गोर्खा कब्जा गर्ने मुक्तिसेनाको टुकडीको कमान्डरको जिम्मेवारी बोकाए । राजेश्वर देवकोटा र श्रीभद्र शर्मा उहाँका राजनीतिक सहयोगीका रुपमा खटाइए । पश्चिमी क्षेत्रको कमान्डरीको दायित्व शिरोपर गर्दै उहाँ पुन: बनारस फर्कनका लागि रेल चढ्नुभयो । धोकापूर्ण दिल्ली सम्झौताका विरुद्ध डा. के.आइ. सिंह, रामकुमार राई, आदिको नेतृत्वमा रहेका मुक्तिसेनाले सशस्त्र विद्रोह गरे । त्यो विद्रोहलाई नेपाल कम्युनिष्ट पार्टिले सघाएको थियो भन्ने आरोपमा नेपाल कम्युनिष्ट प्रतिबन्ध भैसकेको थियो । त्यसैले निर्मल लामालाई नेकपाले फेला पार्न हम्मे हम्मे पर्‍यो । निक्कै मिहिनेत पछि डा.काशिराज उपाध्याय, एन.डी.जोशि र लक्ष्मी हलुवाई मार्फत बल्लतल्ल उहाँ नेपाल कम्युनिष्टका संस्थापक सदस्य, नेता पुष्पलाल श्रेष्ठसँग भेट गर्न सफल हुनुभयो । पुष्पलालले निर्मल लामालाई बामपन्थी काँग्रेसमा बसेर काम गर्न सल्लाह दिनुभयो । बामपन्थी काँग्रेस भनेको काँग्रेससँग असन्तुष्ट, दिल्ली सम्झौता मन नपराउने तथा राष्ट्रियतावादी रुझान भएका काँग्रेसहरु समावेश भएको संगठन थियो । त्यसबेला बालचन्द्र शर्मा, केदारमान ब्यथित र भरतमणि शर्मा बामपन्थी काँग्रेसका नेता थिए । त्यसपछि राजेश्वर देवकोटा, काशिराज उपाध्याय, रुद्रराज शर्मा समेत उहाँ बामपन्थी काँग्रेसमा लाग्नुभयो र उहाँ पोखरा खटिनुभयो । पोखरा बसेर उहाँले बामपन्थी काँग्रेस र कम्युनिष्ट पाटीका कामका अतिरिक्त सामाजिक सुधार, शैक्षिक विकास आदिका कामहरु पनि गर्नुभयो । विन्द्यवासिनी मन्दिरमा प्राथमिक विद्यालय पनि खोल्नुभयो र शिक्षक भई त्यहाँ पढाउने काम पनि गर्नुभयो । उहाँले २००९ सालको मंसिरमा नेपाल कम्युनिष्ट पाटीको विधिवत सदस्यता लिनुभयो । २०१० साल दशैंका बेलामा उहाँले काठमाडौंमा खोर्सानी काण्डका विरुद्धमा संघर्ष गर्नुभयो । खोर्सानी काण्डमा आन्दोलित भएका जनताले दशैंका लागि भोटेहरुले बेच्न ल्याएका र दर बस्यो भन्दै मनमाफिक  भएका जनताले दशैंका लागि भोटेहरुले बेच्न ल्याएका र दर बस्यो भन्दै मनमाफिक दाममा बेच्ने गरेका च्याङग्रा पनि लुटेर लिए तर यो च्याङग्रा काण्ड चाहिँ पाटीले नगरेर स्वतस्फूर्तरुपमा भएको थियो, त्यसैले यस काण्डमा पाटी नमुछियोस् भन्नका लागि च्याङ्ग्रा काण्ड पाटीले गरेको होइन भनेर भूगोलपार्कमा भाषण गर्न पार्टीले नै उहाँलाई खटायो । भाषण गर्द–गर्दै निर्मल लामा गिरफ्तार गरिनुभयो । उहाँलाई  प्रहरीले हनुमान ढोकाको मजिस्ट्रट अफिसमा लग्यो । त्यस्तै अंगुरबाबा जोशी विरुद्धको मोहियानी हकको संघर्ष पनि उहाँकै सक्रिय सहभागितामा भएको अर्को एक महत्वपूर्ण संघर्ष
हो ।

काठमाडौं जिल्ला कमिटिको सेक्रेटरी हुँदाको बखत पाटीका महासचिव केशरजंग रायमाझीसँग पनि उहाँले संघर्ष गर्नुभयो । फलस्वरुप उहाँलाई जिल्ला   सेक्रेटरीबाट हटाइयो । २०१४ सालमा भएको दोस्रो महाधिवेशनमा राजा प्रतिक्रियावादको केन्द्र हुन् भन्ने विचार पारित भएको थियो र लामाले त्यो पारित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । लामा त्यतिखेर पूर्णतया गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । मनमोहन अधिकारी औषधोपचारका लागि चीन गएकाले रायमाझी त्यतिखेर महासचिव थिए । काठमाडौं जिल्ला कमिटि मार्फत पुष्पलाल र शम्भुरामको नेतृत्वमा संगठितरुपले रायमाझीको राजावादी क्रियाकलापको घोरविरोध गर्नेमा निर्मल लामा अग्रस्थानमा हुनुहुन्थ्यो । २००७ सालमा दैलेखका बडाहाकिम बनेका मुक्तिसेनाका कमान्डरले एसएलसी परीक्षा दिनुभयो र त्रि–चन्द्र कलेजमा आइ.ए.मा भर्ना हुनुभयो । त्रिचन्द्र कलेजमा पढ्दा पनि उहाँ आफ्ना सहपाठी साथीहरु र गुरुहरु माझ अत्यन्तै लोकप्रिय मात्र हुनुहुन्थेन, त्रि.वि. अहिलेको ठाउँमा स्थापना गर्ने आन्दोलनमा पनि उहाँको नेतृत्वदायी भूमिका  थियो ।

२०१५ सालमा पाटीले संसदीय चुनावमा भाग लिने भयो र नचाहँदा–नचाहँदै पनि पाटीको निर्णय शिरोपर गर्दै आफू बडाहाकिम भएको क्षेत्र दैलेखबाट निर्मल लामाले चुनाव लड्नुभयो तर विजय हात परेन । २०१८ सालको कुरा हो त्रिचन्द्र कलेजबाट आई.ए.उत्तीर्ण गरेका सोनाम वाङ्दी लामाले यो जेल बसाइलाई शैक्षिक योग्यता बढाउने प्रयोजनका लागि प्रयोग गर्नुपर्छ भनी बी.ए.जाँच दिन पाउँ भनी निवेदन दिनुभयो । त्यसताका जेलबाट जाँच दिन पाउने नियम थिएन । त्यसैले उहाँ जेलबाट जाँच दिन पाउनुपर्छ भनी अनसन बस्नुभयो । १६ दिनसम्म अनसन बसेपछि उहाँ लगभग मर्ने स्थितिमा पुग्नुभयो । अनसनकारीको ज्यान जाला र मुलुक र बाहिर पनि बदनाम होला भनी सरकार झुक्यो र जाँच दिन पाइने भयो । उहाँले जेलबाटै जाँच दिनुभयो र बि.ए. पास गर्नुभयो । त्यही बेलादेखि जेलबाट पनि जाँच दिन पाउने चलन बस्यो । २००९ सालमा बनारसमा भएको तेस्रो महाधिवेशनले तुलसीलाल अमात्यलाई महासचिव चुन्यो । निर्मल लामा २०२७ सालसम्म जेलमै रहनुभयो । पारिजातकी बहिनी सुकन्या वाइबासँग उहाँले गान्धर्व बिवाह गर्नुभयो । बिवाह पश्चात उहाँलाई कसैले सहयोग गरेनन् मात्र होइन डेरा पनि दिएनन् । तर निरन्तर संघर्षमय जीवन बिताउँदै नेपाली जनक्रान्ति सम्पन्न गर्न अहोरात्र दौडधूप गरिरहनुभएका लामा बैवाहिक जीवनमा अल्मलिएर बस्नुभएन । चौथो महाधिवेशनमा लामा पोलिटब्युरो सदस्यमा चुनिनुभयो । यसै सिलसिलामा २०३६ भदौ २४ गते उहाँकै सक्रिय पहलकदमीमा जनकपुरमा ६०,००० भन्दा बढी जनताको सागर सडकमा ओर्लियो । तर पाटीमा लामाको घोर विरोध भयो र उहाँले महामन्त्री पदबाट राजीनामा दिनुभयो ।

२०४६ को ऐतिहासिक जनआन्दोलनमा बाममोर्चाको माध्यमबाट उहाँले अग्रणी योद्धाको भूमिका निर्वाह गर्नुभयो । पाटीले उहाँलाई पञ्चायती ब्यवस्थाको अवसानपछि संबिधान निर्माण आयोगमा सदस्यका रुपमा कार्य गर्न खटायो । उक्त आयोगमा लामाको प्रतिनिधित्वले संविधानमा जनताका पक्षमा सकेसम्म बढी अधिकार पार्नमा महत्वपूर्ण    रहेको कुरा संबिधान निर्माताहरु स्वयं विनम्रतासाथ स्वीकार गर्दछन् । २०४८ सालको आम निर्वाचनमा एकता केन्द्र समर्थित संयुक्त जनमोर्चाले नौ वटा सिटमा चुनाव जितेर प्रतिनिधि सभामा पठायो र राष्ट्रिय राजनीतिमा तेस्रो शक्तिका रुपमा स्थापित भयो । २०५१ सालमा एकता केन्द्र फेरि बिभाजित भयो र बिभाजित पक्ष नेकपा मावोवादीका रुपमा देखापर्‍यो । सधैं विद्रोह, संघर्ष, त्यागको प्रतिमूर्ति बन्नुभएका लामाले मुलुकका सबै जसो राजनीतिक पाटीका र उहाँकै पाटीका नेताहरुले समेत राजनीतिक पीडित सहायता कोषबाट आर्थिक सहायता लिए पनि उहाँले त्यो सहयतालाई दुत्कार्नु भयो । २००७ सालको क्रान्तिको लगत्तैपछि सुवर्ण शमशेर र वी.पी. हरुले आर्थिक प्रलोभन तथा पदको प्रलोभन दिएर कम्युनिष्ट हुनबाट रोक्न खोजे तर उहाँ रोकिनुभएन ।

यसैबीच निर्मल लामा जनअभिनन्दन समारोह समितिले २०५७ बैशाख ८ गते राष्ट्रिय सभागृहमा उहाँको भावपूर्ण अभिनन्दन गर्‍यो । स्ट्रेचर शैय्यामै उहाँ अदम्य साहस साथ सभागृहमा उपस्थित हुनुभयो र उपस्थित जनलाई संबोधन गर्नुभयो – “सम्मानपूर्वक, स्वतन्त्रतापूर्वक बाँच्न खोज्ने नेपाली नागरिकहरु सामुन्ने आज साहै्र ठूलो समस्या उब्जिएको छ । बारम्बार दोहोर्‍याउने गरेको त्यो समस्या हो–राजनीतिक भ्रष्टाचार ।” बैशाख २७, २०५७ बिहान ६:१० बजे सातादिनको बेहोशीयुक्त प्राणवायुले उहाँको जीर्ण शरीर त्याग गर्‍यो । उहाँको आँखाको नानी उहाँले पहिले ब्यक्त गरेको इच्छा अनुसार दान गरियो । यसरी कफी बारी चियाबगानको खस्राईलो माटोमा जन्मेको प्रवासी तेजबहादुर लामाले जीवनका बाउन्न हण्डर त्रिपन्न ठक्कर खाँदै नेपालीलाई सामन्ति एवं साम्राज्यवादी शोषण उत्पीडनबाट मुक्त गर्ने लडाई लड्दा–लड्दै स्वयम्भुको डाँडामा अन्तिम विराम लियो ।

(लेखक : नेकपा बागमती प्रदेश सल्लाहकार परिषद्का अध्यक्ष तथा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य–सचिब हुन् ।)

प्रतिक्रिया दिनुहोस्