
२४ वैशाख २०७७, काठमाडौं
नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्षसहित प्रदेश नं. ५ सरकारले आवश्यक परीक्षण किट माग गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) विपत् व्यवस्थापन केन्द्र (सीएमसी)को बुधबार बसेको वैठकले परीक्षणको दायरा बढाउन पर्ने भन्दै आवश्यक किट, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र औषधी माग गरेको हो ।
बैठकले यी सामग्री उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने निर्णय गरेको छ । बाँकेको नेपालगञ्जमा मात्रै २३ जना र रुपन्देहीमा एकजनामा कोरोना संक्रमित पुष्टि भएपछि प्रदेश ५ कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको वैठकले कोभिड–१९ को उपचारका लागि स्थान अभाव हुन नदिन बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत प्रयोग गर्ने निर्णय गरेको छ ।
कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोभिड १९ रोकथाम तथा उपचार कोषबाट गर्ने पनि निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
वैठकले नेपाल–भारत सीमामा थप जनशक्ति परिचालन र सुरक्षाकर्मीलाई आवश्यक सामग्री व्यवस्था गर्न गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।
बैठकले कोरोना भाइरसका शंकास्पद बिरामीको पीसीआर परीक्षणमा जोड दिने र भारतबाट आउनेका हकमा आइसोलेसन बेड भएका अस्पतालमा राखी स्वाब संकलनको व्यवस्था मिलाउने निर्णय गरेको छ ।





