
२२ वैशाख २०७७, काठमाडौं
प्रहरीले काठमाडौँ उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गर्न थालेको छ ।
बन्दाबन्दी (लकडाउन्) थप कडाइ गर्न प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीलाई निर्देशन दिएपछि प्रहरीले उपत्यका भित्रिने नाकामा थप कडाइ गरेको हो ।
आइतबार (हिजो) साँझदेखि जिल्ला प्रशासन कार्यालयको पास लिएर आएका सवारी साधनलाई पनि चेकजाँचमा कडाइ गरिएको छ । “अत्यावश्यकलाई मात्र प्रवेश गर्न दिएका छौं ।” एक प्रहरी अधिकृतले भनेका छन्, ‘आजदेखि थप कडाइ हुन्छ ।’
‘काठमाडौँ भित्रिने नाकामै पुगिसकेका सवारी साधनलाई परिस्थिति हेरेर भित्रिन दिन्छौँ ।’ उनले थपे । यस्तै जिल्ला प्रशासनले वितरण गरेको पास व्यवहारिक नदेखिएको पनि उनको भनाइ छ ।
वैशाख २५ गतेपछि ठाउँ अनुसार लकडाउन्’को मोडालिटी तयार पारेको सरकारले काठमाडौँ उपत्यकामा खुकुलो पार्ने तयारी गरेको बुझिएको छ ।
त्यसकै तयारीका लागि अन्य जिल्लाबाट काठमाडौँमा मानिसहरुको आवागमनमा सरकारले कडाइ गरेको बुझिएको छ ।
|फाइल तस्वीर|





