एनआरएनए कोरोना तथ्यांक : विश्वभरि ७३ नेपालीको मृत्यु, ५ हजार बढी संक्रमित



२१ वैशाख २०७७, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वभर ७३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार ७३ को मृत्यु हुनुका साथै संक्रमितको संख्या ५ हजार दुई सय ४७ पुगेको छ ।

बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ ।

जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको एनआरएनएको तथ्यांकमा उल्लेख छ । यस्तै, संयुक्त अरब इमिरेट्स् (यूएई)मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

यस्तै, नेपालबाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना उपचारपछि निको भएको अनुमान एनआरएनएले गरेको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको छ ।

कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्