
२० बैशाख २०७७, काठमाडौं
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजले संयुक्त रुपमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकमार्फत उपलब्ध गराइएको सामग्रीमा एक हजार ५०० जोर पञ्जा, पुनःप्रयोग गर्न मिल्ने पाँच हजार ८३० थान मास्क, स्यानिटाइजर र ज्वरो मापनयन्त्र रहेको छ । उक्त सामग्री जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई शुक्रवार हस्तान्तरण गरेको अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका कोषाध्यक्ष जेनकुमार लामाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण रोमथाम तथा नियन्त्रणका लागि खटिने सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीका लागि सहयोग गर्न संस्थाका सदस्यहरुले व्यक्तिगत खर्चमा सो सामग्री खरिद गरी हस्तान्तरण गरेका हौँ ।”
सो अवसरमा प्रजिअ तिमिल्सिनाले प्राप्त सामग्रीले महामारीविरुद्ध दिनरात खटिरहने कार्यमा थप मद्दत पुग्ने बताउनुभयो ।
यसैबीच उक्त संस्थाले शुक्रबार नै नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अत्यन्त जोखिमपूर्ण अवस्थामा पनि सूचना, समाचार सम्प्रेषणलगायतका काममा अहोरात्र खट्ने सञ्चारकर्मीहरुका लागि मास्क ५० थान र १०० एमएलको स्यानिटाइजर ५० बोतल महासङ्घका शाखा अध्यक्ष मोतिराम तिमल्सिनालाई हस्तान्तरण गरेको समाजका कोषाध्यक्ष लामाले बताउनुभयो ।
यसैगरी काभ्रे उद्योग वाणिज्य सङ्घ बनेपाको समन्वयमा निर्माण सामग्री व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकले एक हजार थान सर्जिकल मास्क जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।





