जनकपुर प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशाला बन्द



१७ वैशाख २०७७, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) परीक्षणको गलत रिपोर्ट आउन थालेपछि जनकपुर प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला बन्द भएको छ ।

प्रादेशिक प्रयोगशालाको पीसीआर रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेपछि एक सातादेखि स्वाब परीक्षण सेवा बन्द भएको प्रयोगशालाका अधिकृत युगलकिशोर यादवले जानकारी दिए ।

कोरोना परीक्षणका लागि प्रदेश २ मै पहिलोपटक चैत २१ गते जडान गरिएको पीसीआर प्रयोगशालामा हालसम्म १०१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

तर, परीक्षण गरिएकामध्ये सर्लाहीका १ जना र रौतहटका २ जना गरी ३ जनाको स्वाब पुनः काठमाडौंमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि जनकपुरको पीसीआर प्रयोगशालाको विश्वसनीयतामाथि प्रश्न उठेको हो ।

पीसीआर प्रयोगशाला बन्द भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएको छ । जनकपुरको पीसीआर मेसिन फिर्ता गरी प्रदेश सरकारले अर्को नयाँ मेसिन ल्याउने तयारी गरेको बताइएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्