
१४ वैशाख २०७७, काठमाडौं
बर्दियाको राजापुर नगरपालिका वडा नं १० स्थित कोठियाघाटमा सञ्चालित क्रसरमा काम गर्ने दुई भारतीयमा कोरोना पोजेटिभ देखिएको छ ।
भारतको उत्तरप्रदेश राज्य बहराइच जिल्ला नानपारा स्थायी घर भई कोठियाघाटमा कार्यरत दुई जना मजदुरमा कोरोना पोजेटिभ पाइएको हो । लकडाउनका अवस्थामा केही दिनअघि भारत स्थित आफ्नो घर पुगेका उनीहरुलाई भारतमै परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको भारतीय प्रहरी अधिकारीले पठाएका पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा उल्लेख गरिए अनुसार बैशाख ५ मा आफ्नो घर पुगेका उनीहरुको बैैशाख ८ मा कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ भेटिएपछि भारतीय अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीहरुलाई सोही दिन पत्राचार गरी जानकारी गराएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
नेपाली उद्योगमा कार्यरत भारतीयमा कोरोना पोजिटिभ भेटिएपछि बर्दिया स्थित कोठियाघाट क्षेत्रलाई चारैतिरबाट लक गरिएको प्रजिअ लामिछानेले बताए ।
ती कामदारहरुलाई नेपालमै वा भारत जाने क्रममा संक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको पनि उहाँले बताए । संक्रमण देखिएका भारतीय कामदारसँगै काम गर्ने नेपाली मजदुरको पहिचान गरी स्वाब परीक्षणका लागि पठाइएको तर रिपोर्ट आइनसकेको लामिछानेले बताए ।
शंकास्पद सबै नेपाली कामदारको पीसीआर प्रविधि मार्फत परिक्षण गर्ने प्रशासनको तयारी छ । यस्तै, भारतबाट नेपाल फर्कन लागेका बर्दिया ठाकुरबाबा नगरपालिकाका एक नेपालीलाई भारतको बहराइचमा कोरोना परीक्षण गर्दा पोजेटिभ पाइएपछि ठाकुरबाबा नगरपालिकामा थप कडाई गरिएको छ ।
लकडाउनका कारण घर फर्कन नपाएका कोरोना संक्रमित नेपाली मजदुर हाल भारतीय आइसोलेशनमा उपचाररत छन् । यससँगै बर्दियामा सर्तकता बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
|फाइल तस्वीर|





