कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल, एक स्थान सुधार



१३ वैशाख २०७७, काठमाडौं

विश्व स्वास्थ्य संगठनले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३)मा झारेको छ ।

कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताएका छन् ।

“हामी पहिले लेभल ४ अर्थात् अति उच्च जोखिमको सूचीमा थियौं । तर त्यसलाई हामीले सुधार गर्‍यौं । अहिले लेभल ३ मा झरेका छौं ।” उनले भने ।

सार्क मुलुकका भारत, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स लेभल ३ मा रहेको उनले बताए । तर पाकिस्तान अहिले पनि लेभल ४ र अफगानिस्तान अहिले पनि लेभल ५ मा रहेको उनले बताए ।

नेपालले पछिल्लो समय पीसीआर र र्‍यापिड टेस्ट्को दायरा ह्वात्तै बढाएको, संक्रमण रोक्न बन्दाबन्दी (लकडाउन्)लाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाईका साथ लागू गरेको कार्यको मुल्याकंन गरी नेपालको अवस्था दुई महिना अघिको तुलनामा सुधार भएको महानिर्देशक श्रेष्ठले बताए ।

उनले कोरोना नियन्त्रणका लागि नेपालले चालेको कदम विश्वमै उत्कृष्ठ रहेको दोहोर्‍याए । संगठनले नेपालको कोरोना नियन्त्रणसम्बन्धी कदमलाई सही दिशामा अघि बढिरहेको उल्लेख गरेको समेत उनले बताए ।

नेपालमा अहिलेसम्म कोरोनाबाट ४९ जना संक्रमित भएका छन् । तीमध्ये ११ जना निको भएर घर फर्किसकेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्