गोदावरीको पुरानो राजकुलो सञ्चालन गर्न माग



१२ बैशाख २०७७, काठमाडौं

गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो अनुगमन गरिएको छ । लामो समयदेखि बन्द रहेको सो राजकुलो सञ्चालनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आज अनुगमन गरिएको हो ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, प्रदेशसभा सांसद चेतनाथ सञ्जेल, क्षेत्र नं ३ प्रदेशसभा सांसद राजकाजी महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलगायत स्थानीय सो अनुगमनमा सहभागी हुनुहुन्थ्यो ।

अनुगमनका क्रममा मन्त्री फुयाँलले आउँदो आर्थिक वर्षमा प्रदेश सरकारको तर्फबाट राजकुलो निर्माणका लागि रु ५० लाखमुनिको बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणको यस कामलाई अघि बढाउन प्रदेशले सहयोग गर्नेछ । पछि स्थानीय तहबाट यसलाई निरन्तरता दिएर योजना सम्पन्न गर्नुपर्छ ।” सांसद सञ्जेलले आउँदो जेठ महिनासम्म राजकुलोबाट पानी सञ्चालन गर्नका लागि मन्त्री फुयाँललाई आग्रह गर्ने बताउनुभयो ।

यसैगरी वडा नं. ३ का सांसद महर्जनले गोदावरीका स्थानीयवासी मिलेर यहाँका ऐतिहासिक सम्पदा जगेर्ना गर्न लाग्नुपर्ने आँैल्याउनुभयो । नगरप्रमुख महर्जनले राजकुलोबाट सक्दो चाँडै पानी झार्न आफू पनि लागिपर्ने भनाइ राख्नुभयो । अनुगमनमा रहेका मन्त्री, सांंसद, नगरप्रमुख र वडाध्यक्षले आजै रु छ हजार ३०० उठाइ राजकुलो निर्माण अघि बढाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्