लकडाउनमा बढ्यो काठ तस्करी



११ बैशाख २०७७,काठमाडौं

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी धनुषामा काठ तस्करीको क्रम बढेको छ ।

जिल्लाका उत्तर–पश्चिममा अवस्थित मिथिला नगरपालिका-११ को तल्लो तुलसी ढाडखोलामा पर्ने सुन्दर सामुदायिक वन र राष्ट्रिय वनबाट काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ । लकडाउनका वेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

काठ तस्करीमा अधिकांश स्थानीयवासीकै सङ्लग्नता रहेको बताइएको छ । उनीहरुले वन कर्मचारी र प्रशासनको मिलोमतोमा काँचो साल र खयर लगायत वहुमूल्य रुख काटेर बिक्री गर्ने गरेका छन् । अवैध रुपमा कटान गरिएका त्यस्ता काठहरु महोत्तरीको बर्दिवास, विजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी र जमुनिबासदेखि दक्षिणमा सञ्चालित फर्निचर उद्योगमा बिक्री वितरण गर्ने गरेको बताइएको छ ।

यसअघि पनि मिथिला नगरपालिका ७ स्थित औरही खोला र बसि खोलाको सिरानबाट व्यापक काठ तस्करी भएपछि स्थानीय प्रहरी प्रशासनले सक्रियता बढाएपछि तस्करी रोकिदै गएको थियो ।

“लकडाउनका बेला काठ तस्करी गरेर कमाउने दाउमा रहेका कर्मचारीको पहिचान गरेर निलम्बन गर्ने काम थालिएको छ”, प्रदेश नं. २ उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले भन्नुभयोे, “तस्करी बढेको गुनासो आएपछि वन क्षेत्रमा सुरक्षाकर्मी र वनकर्मीको परिचालन बढाइएको छ । डीएफओहरूलाई पनि फिल्डमै खटाइएको छ ।”

लकडाउनको मौका छोपी महोत्तरीमा पनि वन फडानी तीब्र रुपमा भइरहेको छ । सालका ठूल ठूला रूख र सालका लाथ्राहरू कटान भएका छन् । बर्दिवास नगरपालिका-३ स्थित पानीखोल्सी रातमाटा सामुदायिक वनमा अहिले काठ तस्करी गर्ने क्रम बढेको छ । दुई सय २२ हेक्टरमा फैलिएको वनक्षेत्रमा लकडाउनमा घाँस दाउरा गर्ने वहानामा वनमा पस्नेको सङ्ख्या ह्वातै बढेको स्थानीयवासी बताउँछन् । पानीखोल्सी वन क्षेत्रमा हेटौंडा ढल्केवर विद्युत् प्रसारण लाइनमा परेर २ वर्षअघि कटान गरिएका रूखका काठ पनि अहिले धमाधम चोरी तस्करी भइरहेको छ ।

सो वन क्षेत्रमा मात्रै प्रसारण लाइनमा पर्ने एक हजार २३४ रूख कटान भएका थिए । कटान भएका रूखका काठ घाटगद्दीबाटै अहिले चोरी भइरहेको भए पनि वनले त्यसको संरक्षणमा चासो देखाएको छैन । उक्त फडानी भएको क्षेत्रमा ८ हजार क्युफिट काठ सामुदायिक वनभित्रै घाटगद्दी गरिएको थियो । पानीखोल्सी सामुदायिक वनका अध्यक्ष माधव पोखरेलले वनमा कुनै किसिमको फडानी र चोरी निकासी नभएको दाबी गर्नुभयो ।

अन्य वनको तुलनामा सामुदायिक वनमा अहिले चोरी निकासी बढेको वन कार्यालय महोत्तरीले जनाएको छ । घाँस दाउराको बहानामा जङ्गल पस्ने र सालका लाथ्राहरू कटान गर्ने गरेको पाइएको गस्तीमा खटिएका रेन्जर सन्तोष यादवले बताउनुभयो । “हामी रातको समयमा पनि गस्ती गरिरहेकै छौँ”, उहाँले भन्नुभयोे, “वन फडानी र चोरीनिकासी गर्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं ।”

तुलसी र पाटु क्षेत्रमा वन कर्मचारी र प्रहरी प्रशासनले बेला–बेला काठ तस्करलाई नियन्त्रणका लिने प्रयास नगरेको होइनन् तर पर्याप्त निगरानी नहुँदा नियन्त्रण भएको छैन । चुरे क्षेत्रको संरक्षण र प्रवद्र्धनको जिम्मेवारी लिएका राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले पनि यस विषयमा खासै चासो राखेको देखिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्