किसानलाई बन्दाबन्दीको छैन पर्वाह



११ बैशाख २०७७,काठमाडौं

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ नन्नीपुरुवाका कृषक बिहानै खसीबोका, भैँसी र गाईगोरुका बथान चराउन निस्कन्छन् । खेतमा भैसी र राँगा चराइरहनुभएका रञ्जित खटिकको व्यवसाय पनि कृषि तथा पशुपालन हो । उहाँ दैनिक रुपमा खेतबारीमा पशुचौपाया चराउने, दूध बजारमा पुर्याएर बेच्ने र त्यसबाट आएको पैसाले घरखर्च चलाउनुहुन्छ ।

कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनले बाँके जिल्लाका ग्रामीण बस्तीमा यसरी खासै प्रभाव पारेको देखिएको छैन । जिल्ला प्रशासन कार्यालय बाँकेले यही वैशाख ८ गतेदेखि अपराह्न ४ बजेपछि औषधि व्यवसायबाहेक अन्य अत्यावश्यक पसल बन्द गर्ने निर्णय गरे पनि त्यसको प्रभाव ग्रामीण क्षेत्रमा भने परेको छैन । जिल्लाका ग्रामीण क्षेत्रका किसान अहिले पनि घरबाहिर कृषि पेशामा व्यस्त देखिन्छन् ।

बन्दाबन्दीमा नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरिए पनि जिल्लाका अधिकांश ग्रामीण भेगका बासिन्दा बिहानैदेखि खेतबारीका काममा व्यस्त देखिन्छन् । ग्रामीण क्षेत्रका कामकाजी जनतालाई लकडाउनले तिनको दिनचर्यामा खासै प्रभाव पारेको छैन ।

स्थानीयवासी कृषक पञ्चराम यादव वर्षभरि दैनिक गुजारा चलाउन गहुँबाली स्याहार्ने बेलामा सबै व्यस्त हुनुपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गहुँ बिक्री गरेर भएको आम्दानीबाट घर खर्च व्यवस्थापन गर्नुपरेकाले अहिले कृषकहरु बाली स्याहार्ने र बिक्रीका लागि मूल्य कुरेर बसेका छन् ।”

उहाँका अनुसार कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि खेतीपातीमा जाँदा सामाजिक दूरी कायम गर्ने तथा घरमा साबुनपानीले हात धुने जस्ता सजगता अपनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्