लकडाउनको समयमा पनि वन संरक्षण जारी



११ बैशाख २०७७,काठमाडौं

पछिल्लो वर्षा र सघन अनुगमन यहाँको वन क्षेत्र संरक्षणमा प्रभावकारी बनेको छ । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहँदा पनि डढेलो र वन कटानी नियन्त्रणमा पछिल्लो वर्षा र वन सुरक्षा गस्तीको अनुगमन प्रभावकारी बनेको हो ।

जिल्लाका वन क्षेत्रमा जताततै डढेलो बढ्दै गएर चोरी कटान पनि सँगसँगै बढेपछि डिभिजन वन कार्यालय महोत्तरीले सञ्चालन गरेको बिशेष सुरक्षा अभियान अहिले प्रभावकारी बनेको छ । लकडाउनका समयमा वन्यजन्तुको चोरी शिकार, रुख कटान र जताततै डढेलो बढेपछि शुरु गरिएको विशेष सुरक्षा अभियानमा बिशेष तालिम प्राप्त वन सुरक्षा जवानले ३०० हेक्टरको डढेलो नियन्त्रण गरेका छन् । यसै अवधिमा चोरी कटान गरिएका १९७ क्यूविक फिट साखु (साल) का गिण्डा बरामद गरिएका डिभिजन वन कार्यालयले जनाएको छ ।

“हाँमीले वनको सुरक्षाका लागि अहिले तीनवटा विशेष तालिम प्राप्त सुरक्षा टोली परिचालित गरेका छौँ”, सुरक्षा गस्तीकै क्रममा जिल्लाको बर्दिबास नगरपालिका–३ को पाटु सामुदायिक वन क्षेत्रमा आज बिहीबार बिहान भेटिनुभएका डिभिजन प्रमुख हेमन्तप्रसाद साहले सञ्चारकर्मीसँग भन्नुभयो, “हाँमीले यस अवधिमा डढेलो नियन्त्रण, चोरी कटान र वन्यजन्तुको शिकार गर्ने प्रवृत्ति निरुत्साहितमा राम्रो उपलब्धि हासिल गरेका छौँ ।” गत सोमबार राति र मङ्गलबार बिहानभरिको वर्षा पनि डढेलो नियन्त्रण र चोरी कटान रोक्न सहयोगी बनेको साहको भनाइ छ ।

“पछिल्लो वर्षाले लागेको डढेलो निभाएको छ, वनको सोतर (पतिङ्गर) भिजेर आगो नलाग्ने भएको छ”, साहले भन्नुभयो, “वर्षाले वन क्षेत्रभित्रका सडक हिलाम्य भएपछि तस्करहरुको चलखेल पातलिएको छ, यसैबीच हाँमीले शुरु गरेका सघन गस्तीले तस्कर रन्थनिएका छन् ।” सुरक्षा गस्तीले लकडाउन अवधिभित्रै पाँच ठाउँमा गरेको विशेष अपरेशन (खोज अभियान)मा एक वन तस्कर पक्राउ परेका कार्यालयले जनाएको छ । भागेका तस्करको पहिचान गरिएको हुँदा ढिलोचाँडो ति नियन्त्रणमा आउने प्रमुख साहको भनाइ छ ।

जिल्लामा पछिल्लो वर्षाले नयाँ बिरुवा हुर्कन निकै मद्दत गरेको छ । वर्षाको केही दिनभित्रै वसन्तमा नयाँ पालुवा फेरेका रुख लहलहाएका उहाँले बताउनुभयो । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कबुलियती र सागरनाथ वन परियोजनासहित गरी २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्