प्रदेश नं. ५ मा पहिलो पटक ७८ वर्षीय पुरुषमा आरडीटी ‘पोजेटिभ’



१० वैशाख २०७७, काठमाडौं

पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट् (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ ।

प्रदेश नं. ५ मा र्‍यापिड टेस्ट्मा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो । बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्‍यापिड टेस्ट् चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो ।

दुई पटकसम्म टेस्ट् गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ ।

उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द नरुल होदाले बताए ।

डा. होदाले भने, ‘बुधबार दिउँसोसम्म रिपोर्ट आउँछ ।’ उनी लामो समयदेखि घरमै बस्दै आएका थिए । उनी एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका थिए । छातिमा समस्या आएपछि जाँच गराउन चिसापानी अस्पताल पुगेका थिए ।

उनीसँगै उनका परिवारका सबै सदस्यहरुको र्‍यापिड टेस्ट् गर्दा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि पश्चिम नवलपरासीमा एक सय ३१ जनाको र्‍यापिड टेस्ट् गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्