मधेशी आयोगका अध्यक्ष डा.दत्तको उपस्थितिमा सर्वपक्षीय बैठक सम्पन्न



०९ बैशाख २०७७, काठमाडौं

जिल्ला प्रशासन कार्यालय, धनुषामा बिभिन्न राजनीतिक दलका प्रतिनिधि तथा बिभिन्न धर्मका गुरुहरुको सहभागीतामा जिल्लामा बिभिन्न क्षेत्रगत समस्याहरुलाई निराकरण गर्नका लागि बैठक सम्पन्न भएको छ ।

जसमा सामुदायिक तथा सामाजिक सदभावलाई अझ बढी प्रभावकारी बनाउने, प्रत्येक राजनीतिक दलले आ–आफ्ना कार्यकर्ताहरुलाई सचेतनामुलक कार्यक्रमहरुको लागि अझ बढी जिम्मेवार बनाउने, लक्षित वर्गलाई यथाशिघ्र राहतको लागि पहल गर्ने, कालोबजारी लाई पूर्णरुपमा नियन्त्रण गर्ने, कानुन उल्लंघन गर्नेलाई कानुनी दायरमा ल्याउने सहितका छलफल, विमर्श र निर्णय भएका छन् ।

जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष प्र.जि.अ कोषहरि निरौलाको अध्यक्षतामा भएको सो बैठकमा मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त, पूर्वमन्त्री तथा संघीय सांसद मात्रिका यादव, जिल्ला सम्वन्य समितिका प्रमुख तथा उपप्रमुख, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका उपरीक्षक, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका सभापति, पूर्व उपमेयर अस्गर अली, अधिकारकर्मी मनोज कर्ण, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, बिभिन्न धर्मका धर्मगुरुहरुको सहभागिता रहेको थियो ।

मधेशी आयोगका अध्यक्ष डा.दत्तले प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवसँग बैठकमा प्रदेशको समग्र अवस्थाको बारेमा समेत छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्