भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा डिप्रेसनका समस्या : संगीतमार्फत् मनोरञ्जन दिइँदै



०९ वैशाख २०७७, काठमाडौं

भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका नेपालीहरुमा डिप्रेसनको समस्या देखिन थालेपछि गीत संगीतमार्फत् मनोरञ्जन दिन थालिएको छ ।

लकडाउनका कारण नेपाल प्रवेश गर्न नपाएपछि क्वारेन्टाइनमा बसेका उनीहरुलाई गीत संगीत तथा साक्षरता कार्यक्रम संचालन गरिएको हो ।

कञ्चनपुरसँग सीमा जोडिएको पश्चिमी सीमावर्ती भारतीय जिल्ला चम्पावत प्रशासनका अनुसार क्वारेन्टाइनमा बसेका नेपालीहरुमा डिप्रेसनको समस्या देखिन थालेपछि यस्तो कार्यक्रम शुरु गरिएको हो ।

क्वारेन्टाइनमा प्रत्येक दिन साँझ गीत संगीत तथा साक्षरता कार्यक्रम संचालन गर्दै आएको छ । क्वारेन्टाइनमा रहेका नेपालीहरुले लोक, भजनसँगै हिन्दी गीत गाएर मनोरञ्जन गर्ने गरेका छन् ।

कार्यक्रममा भारतीय अधिकारीहरु पनि सहभागी हुने गरेका छन् । चम्पावत र उद्यमसिंनगरको बनबासा, टनकपुर र खटिमास्थित क्वारेन्टाइनमा २ सय ५१ जना नेपाली रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

|तस्वीरमा मनोरञ्जन लिँदै नेपाली। श्रोतः|

 

प्रतिक्रिया दिनुहोस्