विराटनगरमा आरडीटी कीट अभाव, रोकियो कोरोना परीक्षण



०८ वैशाख २०७७, काठमाडौं

विराटनगरमा र्‍यापिड डाइनेष्टिक टेस्ट् (आरडीटी) कीट अभाव भएको छ ।

कीट अभावका कारण कोरोना परीक्षण नै रोकिएको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले चार दिनअघिबाट सुरु भएको यो प्रविधिको परीक्षण नै कीट अभावले रोकिएको बताए ।

कीट सकिएर परीक्षण नै रोकिएकोबारे प्रदेश सरकारसँग आग्रह गरिएपनि हालसम्म कीट उपलव्ध नभएकाले उनले बताए । पोखरेलले अहिलेसम्म १९८ जनाको परीक्षण भएको र सबैको नतिजा नेगेटिभ आएको जानकारी दिनुभयो ।

उनले अझै ५ सयको हाराहारीमा परीक्षण गर्नुपर्ने भए पनि टेस्ट् कीट नुहँदा काम रोकिएको बताउनुभयो । त्यस्तै महानगरपालिकाका ल्याव टेक्निसियनले प्रयोग गर्ने एन ९५ माक्स समेत अभाव भएको उनले बताए ।

पोखरेलले महानगरपालिकाका २ जना टेक्निसियन र अरु दुईजना हायर गरेर ल्याइएका टेक्निसियनले प्रयोग गर्ने माक्स अभावले पनि समस्या भएको बताउनुभयो । केन्द्र सरकारले प्रदेश सरकारमार्फत स्थानीय तहहरुलाई यस्ता उपकरण उपलब्ध गराउदै आएको छ ।

तर सरकारले र्‍यापिड डाइनेष्टिक टेस्ट्मार्फत कोरोना परीक्षणकोे दायरा बढाउदै लैजाने दावी गरिरहेका बेला उच्च जोखिम मानिएको क्षेत्र विराटनगरमा नै कीट अभाव भएपछि त्यस क्षेत्रका जनताले सरकारलाई आवश्यक व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

यता, प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य उपकरण अभाव हुनसक्ने भन्दै त्यसतर्फ प्रदेश सरकारको ध्यान गएको बताए ।

उनले प्रदेश सरकारले प्रदेशभर ५ हजार कीट वितरण गरेको भन्दै कतिपय स्थानमा प्रयोग नभएका कीट फिर्ता गर्न पत्राचार गरिएको बताए ।

विराटनगर महानगरपालिकाको हकमा आफुले के कति आवश्यक्ता भएको हो बुझेर समस्या समाधान गर्नका लागि पहल गर्ने बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्