रसियाले लग्यो नेपालमै रोकिएका आफ्ना ११० नागरिक



०८ वैशाख २०७७, काठमाडौं

रसियाले लकडाउनका कारण नेपालमै रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेको छ ।

नेपालस्थित रसिया दूतावासको पहलमा आज (सोमबार) दिउँसो चार्टर्ड उडानबाट १ सय १० जना रसियन नागरिक आफ्नो देश फर्किएका हुन् । दूतावासले आफ्ना १ सय ४३ नागरिक लैजान विमान चार्टर्ड गर्न नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो ।

दूतावासले पत्र पठाएर चार्टर्ड विमानको अनुमति मागेको र आज दिउँसो रोयल फ्लाइट एयरलाइन्सको बोइङ ७५७ मार्फत आफ्ना नागरिक लगेको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

१ सय ४३ यात्रु लैजाने भनिए पनि १ सय १० जना मात्र उडेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले १ सय १० यात्रु लिएर रसियाको उक्त विमान प्रस्थान गरेको जानकारी दियो ।

यसअघि पनि नेपालस्थित अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मन, फ्रान्सलगायत विभिन्न दूतावासले आफ्ना नागरिकलाई विमान चार्टर्ड गरी लगिसकेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्