०७ वैशाख २०७७, काठमाडौं
दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेका मस्जिदहरुको कोरोना संक्रमित मुस्लिमहरु लुकेर रहेको आशंकामा आज (आइतबार) अनुगमन गरिएको छ ।
देशका विभिन्न ठाउँमा रहेका मस्जिदहरुमा संक्रमित मुस्लिमहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा आज अनुगमन गरिएको हो । तुलसीपुरमा रहेका ३ वटा मस्जिदहरु अनुगमन गर्दा कोही पनि लुकेर बसेको पाइएन ।
राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुरका मेयर घनश्याम पाण्डे, संविधान सभा सदस्य अनारकली मियाँ लगायतको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मस्जिदमा मौलाना (पुजारी) मात्रै रहेको पाइएको मेयर पाण्डेले बताए । उनले तत्काल कोही भारत गएको वा नगएको भन्ने बारेमा जानकारी समेत लिइएको बताए ।
मुस्लिम समुदायका मानिसहरुले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको बताएका थिए । उनीहरुले विभिन्न समुदायबाट आफुहरुप्रति गलत दृष्टिकोण राखिएको समेत गुनासो गरे ।
त्यसैगरी संविधान सभा सदस्य अनारकली मियाँले मुसलीम समुदायहरुप्रति समाजमा नराम्रा भ्रमहरु फैलाउने काम भएको भन्दै दुखेसो गरे ।
उनले समाजमा आपसी सद्भावलाई बिथोल्ने काम भैरहेको बेला त्यसलाई चिर्नको निम्ती आफूहरुले नै तुलसीपुरमा रहेका मस्जिदहरुमा अनुगमन गरेको समेत बताए ।
|फाइल तस्वीर|





