नेपालको हकमा कोरोनाको संक्रमण लक्षणको परिभाषा परिवर्तन गर्ने तयारी



०७ वैशाख २०७७, काठमाडौं

नेपालमा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण देखिएका अधिकांश मानिसमा ज्वरो नआएको अध्ययनबाट पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका लागि यो संक्रमणको लक्षणको परिभाषा नै परिवर्तन गर्ने तयारी गरेको छ ।

विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले चार महिना अघि चीनको वुहानबाट फैलिएको यो संक्रमणको मुख्य लक्षण ज्वरो आउनु, खोकी लाग्नु र श्वास फेर्न गाह्रो हुनु भएको भन्दै त्यसबारे सचेतना जगाउन विश्वका सबैजसो मुलुकलाई आव्हान गरेका थिए ।

नेपालमा पनि ती लक्षणहरुलाई आधार मान्दै मन्त्रालयले मानिसमा कोभिड–१९ को संक्रमणको परीक्षण शुरु गरेको थियो । शुरुमा कोभिड–१९ को संक्रमणबाट प्रभावित मुलुकहरुबाट आएकाहरु आत्तिदै अस्पतालमा पुगेपनि उनीहरुलाई ज्वरो नआएको भन्दै ‘स्वाब’ परीक्षण नगरी फिर्ता पठाइएको थियो ।

तर चर्को दबाबपछि मन्त्रालयले हाल आएर मुलुकभर परीक्षणको दायरा बढाउँदै जाँदा ज्वरो नआएका मानिसमा पनि कोभिड–१९ को संक्रमण पुष्टि हुने क्रम बढेको छ ।

त्यसमा आशंका उत्पन्न भएपछि स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाका केही चिकित्सकले शुक्रबार भन्दा अघि देखिएका १५ जना कोभिड–१९ को संक्रमणका बिरामीमाथि अध्ययन शुरु गरेका थिए ।

अध्ययनका क्रममा उनीहरुमध्ये १३ जनालाई ज्वरोनै नआएको पाइएपछि कोभिड–१९ को संक्रमणको लक्षण परिवर्तनका लागि महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले स्वास्थ्य मन्त्रालयलाई प्रस्ताव गरेकोमा मन्त्रालय त्यसमा सहमत भएको मन्त्रालय स्रोतले बतायो ।

त्योसँगै महाशाखाले कोभिड–१९ संक्रमणको लक्षण परिवर्तन गरी छिट्टै नै नयाँ किताव प्रकाशन गर्ने तयारी गरेकोछ । मन्त्रालयले अब ज्वरो आउन, वा रुघाखोकी लाग्नु, श्वाप्रश्वासमा कठिनाई हुनु कोभिड–१९ का लक्षण भएको भन्दै संत्रमणको लक्षणको परिभाषा परिवर्तन गर्न लागेको हो ।

योसँगै ज्वरो नआएपनि रुघाखोकी र श्वाप्रश्वासमा समस्या आयो भने मानिसहरु अस्पताल जाने र उनीहरुको परीक्षण हुने विश्वास मन्त्रालयका अधिकारीहरुले लिएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्