
०६ वैशाख २०७७, काठमाडौं
नेपालमा हालसम्म देशभर २७ हजार बढीको कोभिड–१९ परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर विधिबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४५४ नमूनाको परीक्षण गरिएको जानकारी दिए ।
उनले देशका ७७ वटै जिल्लार्मा यापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण शुरू भएको जानकारी दिए । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा चार हजार ५३६ व्यक्ति छन् भने आइसोलेसनमा ११७ जना छन् ।
मोबाइल एप्लिकेसन र वेबसाइटमा गरेर हालसम्म २० हजार १३० जनाले आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनेमध्येका २५४ जनालाई ‘रेड जोन’मा राखेको पनि उनले बताए ।
प्रवक्ता देवकोटाका अनुसार उनीहरूलाई उच्च निगरानीमा राखिएको छ । मन्त्रालयले हिजो, ५ वैशाख उदयपुरमा भेटिएका १२, चितवनमा भेटिएका दुईजनासमेत गरेर कोभिड–१९ संक्रमितको संख्या ३० पुगेको जनाएको छ ।
तीमध्ये पहिलो संक्रमित यसअघि नै निको भएर घर फर्किसकेका छन् भने दोस्रो संक्रमित आज निको भएर घर फर्किएको मन्त्रालयले जनायो । मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभर आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएका नमूनाको पीसीआर परीक्षण भइरहेको जनाएको छ ।
मन्त्रालयले आरडीटी वा पीसीआर परीक्षणमा पोजिटिभ देखिएका कोभिड–१९ का संक्रमितहरूको नामसहितको विस्तृत विवरण सार्वजनिक नगरिदिन सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ ।
|तस्वीरमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|





