स्थानीय ‘म्यान क्याचर’ प्रयोग गर्दै प्रहरी



०६ बैशाख २०७७, काठमाडौं

स्थानीय स्काफोल्डरले उत्पादन गरेको ‘म्यान क्याचर’ लाई दोलखा प्रहरीले व्यक्तिगत सुरक्षा कवच (पिपिई)का रुपमा प्रयोगमा ल्याएको छ ।

लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिँदा कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन स्थानीयस्तरमा उत्पादन भएको ‘म्यान क्याचर’लाई चरिकोटमा प्रहरीले प्रयोगमा ल्याएको हो ।

प्रहरी चौकी सातदोबाटोका प्रमुख प्रहरी सहायक निरीक्षक महेश आचार्यले उपकरण आयात गर्ने सम्भावना नभएको, समय तथा खर्च धेरै लाग्ने भएका कारण स्थानीय स्काफोल्डरलाई बनाउन लगाएर प्रयोगमा ल्याइएको जानकारी दिनुभयो । चार वटा ‘म्यान क्याचर’ मध्ये जिल्ला भित्रिने खरिढुङ्गा नाका र किर्नेटार नाकामा एक एकवटा र दुईवटा चरिकोटमा राखिने उहाँले बताउनुभयो ।

लकडाउन उल्लङ्घन गर्ने जोखिम बढेपछि नियन्त्रणमा लिन प्रहरीले स्थानीय स्काफोल्डरलाई चारवटा ‘म्यान क्याचर’ बनाउन लगाएको थियो । प्रहरीले शुरुमा लागत इष्टिमेट गरेर भीमेश्वर नगरपालिका–६, स्थित पर्शुराम ग्रील उद्योग चारवटा ‘म्यान क्याचर’ बनाउन लगाएको थियो । पछि ग्रील उद्योगले निःशुल्क रुपमा ‘म्यान क्याचर’ उपलब्ध गराएको प्रहरी सहायक निरीक्षक आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्