कोरोनाको उच्च जोखिम क्षेत्र मानिएको सुदूरपश्चिममा पठाइयो ३४ चिकित्सक



०५ वैशाख २०७७, काठमाडौं

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ जना चिकित्सक पठाएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी र एमएसमा अध्ययनरत ३४ चिकित्सकलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट परिचालन हुनेगरी पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार जहाज चार्टड गरी ३४ जना चिकित्सकलाई त्यहाँ पठाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । सुदूपश्चिम प्रदेशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि थप जनशक्ति आवश्यक भएकाले चिकित्सक पठाएको नियमित पत्रकार सम्मेलनमा डा. देवकटोले जानकारी दिएका हुन् ।

उनका अनुसार चिकित्सकलाई एक महिना अवधिका लागि पठाएको र आवश्यकताअनुसार त्यो अवधि थपिनेछ । सुदूरपश्चिम प्रदेशमा भारत र अन्य मुलुकमा ठूलो संख्यामा मानिस भित्रिएका छन् ।

अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा यूएईबाट आएका एकजना ३४ वर्षीय पुरुष, भारतबाट आएका दुईजना पुरुष, वीरगञ्जबाट आएकी एक ६५ वर्षीया महिला र अर्की ३४ वर्षीया महिला हुन् ।

३४ वर्षीया महिला यूएईबाट आएका संक्रमित परिवारको सदस्य हुन् । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्