सोलुखुम्बु र डोल्पाबाहेक सबै जिल्लामा कोरोना परीक्षण शुरु : स्वास्थ्य मन्त्रालय



०५ वैशाख २०७७, काठमाडौं

सरकारले हालसम्म करिब २५ हजारमा कोभिड १९ (कोरोना भाइरस)को परीक्षण गरिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट् (आरडीटी)विधिबाट १६,५६५ र पीसीआर विधिबाट ७,६८८ वटा गरी कुल २४,२५३ वटा परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयद्वारा नियमित रुपमा आयोजित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र ४,८२२ वटा परीक्षण गरिएको जनाए ।

उनले र्‍यापिड डाइग्नोस्टिक टेस्ट्बाट गरिने परीक्षण सोलुखुम्बु र डोल्पाबाहेक सबै जिल्लाबाट शुरु भइसकेको पनि बताए । शुक्रबार (आज)सम्म देशभर ४,६०७ जना क्वारेन्टाइनमा रहेका र परीक्षण गरेर पठाइएसँगै उनीहरूको संख्‍या घट्दै गइरहेको प्रवक्ता देवकोटाले बताए ।

यस्तै देशभर कुल ९० जना आइसोलेसनमा रहेका छन् । तीमध्ये काठमाडौंमा ५ जना र काठमाडौंबाहिर ८५ जना रहेको मन्त्रालयले जनाएको छ ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्