पछिल्लो २४ घण्टाभित्र कसैमा पनि कोरोना संक्रमण देखिएको छैन : स्वास्थ्य मन्त्रालय



०४ वैशाख २०७७, काठमाडौं

सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाइँदै लगिएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट सात हजार दुई सय ४० जनाको र आरडीटीबाट १२ हजार एक सय ९२ गरी कुल १९ हजार ४ सय ३२ वटा नमुना परीक्षण भएका छन् ।

मन्त्रालयले कोरोनाको र्यापिड टेष्ट (आरडीटी) परीक्षण ७७ जिल्लामध्ये आठ जिल्लामा मात्र बाँकी भएको पनि जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता देवकोटाले आठ जिल्लामा मात्र आरडीटी परीक्षण हुन बाँकी रहेको जानकारी दिएका हुन् ।

आरडीटी परीक्षण ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुमपूर्व र डोल्पा बाँकी रहेको देवकोटाले बताए । अहिलेसम्म क्वारेन्टाइनमा एक सय ३ जना रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ सय ६९ जना र आरडीटी विधिबाट तीन हजार ३ सय ४३ जनाको नमुना परीक्षण भएको छ ।

२४ घण्टामा कसैमा कोरोना पोजिटिभ देखिएको छैन । नेपालमा संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन् ।

अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ ।

अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुई/दुई जनाको उपचार हुँदैछ ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्