सनसिटीमा काम गर्ने दुई कामदार र ‘ब्लक ए’मा बस्ने सबैको रिपोर्ट ‘नेगेटिभ’



०३ वैशाख २०७७, काठमाडौं

काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको ब्लकमा काम गर्ने दुई जना कामदारसहित ’ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ ।

आज बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै ¥यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो । दुई जना कामदारको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ ।

स्वाब परीक्षणको नतिजा आएपछि कामदारहरूमा कोरोना भाइरस रहेको वा नरहेको भन्ने प्रस्ट हुन्छ । गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका दुई सदस्य, आमा र छोरालाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा रहेकाको आजबाट र्‍यापिड टेस्ट सुरू गरिएको हो ।

संक्रमित दुई जना पाटन अस्पतालको आइसोलेसनमा छन् । सोही परिवारका अर्का एक जना महिलाको पनि परीक्षण गर्दा पहिलो चरणमा रिपोर्ट नेगेटिभ आएको थियो । उनको दोस्रो चरणमा परीक्षण हुनेछ । उनी पनि अस्पतालमै छिन् ।

|तस्वीरमा सनसिटी अपार्टमेन्ट। श्रोतः|

प्रतिक्रिया दिनुहोस्