र्‍यापिड टेष्टमा ६ जनामा कोरोना ‘पोजेटिभ’, पीसीआर रिपोर्ट आज आउने



०३ वैशाख २०७७, काठमाडौं

र्‍यापिड टेष्टमा काभ्रे, धादिङ, सप्तरी र गोरखाका ६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएपछि पीसीआर विधिबाट गरिएको परीक्षण रिपोर्ट आज आउने भएको छ ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका सबै छ जनानै विदेशबाट नेपाल फर्किएका हुन् । ‘पोजेटिभ’ देखिएका काभ्रे र सप्तरीका दुई दुई जना हुन् भने धादिङ र गोरखाका एक एक जना छन् ।

काभ्रेको बेथाञ्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक/एक जनामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण गर्दा कोरोना भाइरस ‘पोजिटिभ’ देखिएको हो ।

बेथाञ्चोक गाउँपालिका वडा नम्बर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्बर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए ।

किटमा ‘पोजेटिभ’ देखिएपछि उनीहरु दुवैलाई धुलिखेल अस्पतालमा भर्ना गरेर मंगलबारबाटै पीसीआर विधिबाट स्वाब परीक्षण थालिएकाले आज पुर्नपरीक्षण रिपोर्ट आउने छ ।

यस्तै सप्तरीमा पनि दुई जनामा आरडीटीले कोरोना संक्रमण देखाएपछि मंगलबार नै उनीहरुको स्वाब परीक्षणमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

दिल्लीको निजामुद्दिनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा आरडीटीले कोरोना संक्रमण देखाएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिए ।

यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको दिए । टेष्टमा पनि एक जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । संक्रमण देखिएका युवा दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए ।

उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा २७ वर्षीय युवामा पोजेटिभ देखिएको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।

गोरखाको आरुघाट गाउँपालिकामा पनि एक युवकमा आरडीटीले कोरोना ‘पोजेटिभ’ देखाएको छ। विदेशबाट फर्किएका २० जनाको आरडिटी गर्दा एक युवकमा कोरोना ‘पोजेटिभ’ देखिएको हो ।

ती युवक चैत १ मा बहराइनबाट फर्केका थिए । थप परीक्षणका लागि उनको नमूना पोखरास्थित प्रयोगशालामा पठाइएको छ । युवक आइसोलेसनमा रहेको बताइएको छ ।

उनको पीसीआर परीक्षण रिपोर्ट आजै आउने बताइएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले र्‍यापिड टेष्टमा ‘पोजेटिभ’ देखिएकै आधारमा आत्तिन पर्ने अवस्था नरहेकाले पीसीआर रिपोर्ट आइन्जेल कुर्न आग्रह गरेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्