दिल्लीबाट फर्किएका सप्तरीका दुईजनाको र्‍यापिड टेष्‍ट पोजेटिभ, थ्रोट स्वाब नमूना जाँच हुँदै



०३ वैशाख २०७७, काठमाडौं

भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट कोभिड १९ परीक्षण गर्दा ‘पोजेटिभ’ आएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गएराति द्रुत परीक्षण किटबाट परीक्षण गर्दा उनीहरूको रिपोर्ट ‘पोजेटिभ’ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजित झाले बताए ।

तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका एक एक गरी सातजनाको द्रुत परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. चुमनलाल दासले बताए ।

तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक एक जनाको रिपोर्ट ‘पोजेटिभ’ आएको अस्पतालले जनाएको छ । उनीहरूले मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको बताए पनि स्थानीयवासी भने ११ चैतमा घर फर्किएको बताउँछन् ।

उनीहरु घरमै बसिरहेका थिए । र्‍यापिड टेष्टमा रिपोर्ट पोजिटिभ आएपछि दुईजनालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

अन्य पाँच जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाएको अस्पतालले जनाएको छ । अस्पतालले सातजनाकै स्वाब परीक्षणका लागि राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्