संक्रमित महिलासँगै बसमा कैलाली पुगेका १६ जनालाई क्वारेन्टाइमै ल्याइँदै



०१ बैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) संक्रमित महिलासँगै एउटै बसमा कैलाली पुगेका अन्य १६ जनालाई पुनः क्वारेन्टाइनमै ल्याइँदै छ ।

वीरगञ्जबाट ती महिलासँगै अन्य १६ जना सहितको समूह एउटै बसमा कैलाली पुगेको थियो । उक्त बसमा वीरगञ्जबाट ३५ जना चढे पनि लम्की–चुहामा भने १७ जना झरेको कैलालीका प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए ।

अरु व्यक्तिहरु पश्चिमका विभिन्न ठाउँका रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई पनि आफ्नै ठाउँको क्वारेन्टाइनमा राख्नेगरी वीरगञ्जबाट बसमा पठाइएको थियो । लम्कीचुहामा झरेका १७ जनालाई भने १८ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

तर र्‍यापिड परीक्षणमा ‘नेगेटिभ’ रिपोर्ट आएपछि उनीहरुलाई गत २८ चैत्रमा घर पठाइएको थियो । संक्रमण भएकी महिलाको परिवारका अन्य तीन सदस्य पनि त्यही बसमा लम्कीचुहा पुगेका थिए ।

अहिले १६ जनालाई पुनः क्वारेन्टाइनमा फर्काउने काम भइरहेको एसपी गिरीको भनाइ छ । संक्रमित महिलालाई भने सेती प्रादेशिक अस्पताल लगिएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्