
३० चैत २०७६, काठमाडौं
कोरोनाभाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जना गरी जम्मा १४ नेपालीको मृत्यु भएको हो ।
यस्तै ६ सय ७५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिएका छन् । उनकाअनुसार अमेरिकामा ५०० बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा १०० बढी संक्रमित रहेका छन् ।
यस्तै स्पेनमा १८, जर्मनीमा ४, पोर्चुगलमा २२, अस्ट्रेलियामा ९, युएईमा १०, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जनामा संक्रमण पुष्टि भएको छ । अन्य देशमा पनि विवरण संकलनको क्रममा रहेको एनआरएनले जनाएको छ ।
एनआरएनएले विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिएका हुन् ।





