
३० चैत्र २०७६, काठमाडौं
हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ ।
संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो । टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।
शनिबार साँझ काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालयले यो नतिजा सार्वजनिक गर्ने तयारी गरिहरेको छ ।
कोरोना पोजेटिभको सूचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ । शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा वीरगन्जको एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोनाको आशंका गरिएको थियो ।
लगत्तै उनीहरुलाई वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको थियो । शनिबार साँझ उनीहरुसँगै छपकैयाँस्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्मप्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ ।
उनीहरुलाई स्थानीय सिद्धार्थ मावीको क्वारेन्टाइनमा सारिएको छ । बिहीबार छपकैयाँ र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी क्षेत्रीय अस्पतालमा ‘स्क्रिनिङ’का लागि आएका थिए ।
उनीहरुले आफूहरु चार महिनादेखि नेपालमा रहेको अस्पतालमा बताएका थिए । स्थानीयहरुले ९र१० दिनअघि मात्र यी गुरुहरु मस्जिदमा आएको बताएका छन् ।
|फाइल तस्वीर|





