सेनाले पत्राचार गरेकोमध्ये चीन मात्रै नेपाललाई स्वास्थ्य उपकरण दिन तयार



२९ चैत्र २०७६, काठमाडौं

नेपाललाई आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन तयार रहेको चीनले जनाएको छ ।

नेपाली सेनाले खरिद गर्ने स्वास्थ्य उपकरणको सूची अनुसारका उपकरण आफूसँग उपलब्ध रहेको र नेपाललाई दिन सकिने भन्दै चीनले पत्र पठाएको छ ।

गत बुधबार नेपाली सेनाले परराष्ट्र मन्त्रालयमार्फत् नेपाललाई आवश्यक स्वास्थ्यउपकरणको सूचीसहित ५ देशलाई पत्राचार गरेको थियो । ती देशमध्ये चीनले मात्रै सामग्री दिन सकिने बताएको हो ।

भारतले हालसम्म कुनै प्रतिक्रिया नदिएको कोरोना क्राइसिस म्यानेजमेन्ट समितिको शुक्रबारको बैठकमा जानकारी गराएको एक सदस्यले बताए ।

सिंगापुरबाट पनि कुनै प्रतिक्रिया आएको छैन । दक्षिण कोरिया र इजरायलले तत्काल स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने बताएका छन् । सीसीएमसीका सदस्यलाई सेनाले सामग्री खरिदका विषयमा शुक्रबार ब्रिफिङ गरेको छ ।

स्वास्थ्य सेवा विभागले समेत ३० गतेसम्मको म्याद राखेर स्वास्थ्य सामग्री खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्