दश हजार लिटर सेनिटाइजर हस्तान्तरण



२८ चैत्र २०७६, काठमाडौं

सरकारलाई सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका सदस्य कर्मा घलेले सो परिणाममा सेनिटाइजर हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मन्त्री ढकालले उक्त सेनिटाइजर सङ्घीय सरकारलाई तीन हजार लिटर र सात प्रदेशलाई एक हजार लिटरका दरले वितरण गर्ने जानकारी गराउनुभयो । उक्त सेनिटाइजर करिब रु एक करोड मूल्यबराबरको रहेको छ । मन्त्री ढकालले सेनिटाइजर अभाव भइरहेको बेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेको भन्दै सहयोगका लागि धन्यवाद दिनुभयो ।

सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलब्ध गराएको बताउनुभयो । औषधि व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेका हो ।

प्रतिक्रिया दिनुहोस्