भरतपुरमा परीक्षण गरिएको २१ नमूना नेगेटिभ



२५ चैत २०७६, काठमाडौं

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा पहिलोपटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन भएको १६, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एक र प्रयोगशालामा नै सङ्कलित चार नमूनाको परीक्षण गरिएको हो ।

भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालले नमूना कोरोना अस्पतालमा पठाउँछन् । शर्माका अनुसार आजबाट सबै नमूना बिहान १० बजेभित्र कोरोना अस्पतालमा सङ्कलन भई ११ बजेसम्ममा प्रयोगशालामा पु¥याएर परीक्षण थालिने छ । पोजेटिभ देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराईने छ । अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको छ । आज नतिजा आएका बिरामी अस्पतालको आइसोलेसन, क्वारेन्टाइन र होम क्वारेन्टाइनमा छन् ।

अस्पताललाई सामग्री
भरतपुर अस्पतालको ५७ औँ वार्षिकोत्सवको अवसरमा श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहयोग गरेको छ । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसको जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री मूल्य रु एक लाख ९७ हजार ५०० मा खरिद गरिएको बताउनुभयो ।

कलेजका छात्रछात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गर्दछ । कलेजमा प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका स्वास्थ्यसँग सम्बन्धित विषयमा पढाइ हुन्छ । अस्पतालमा प्रयोगात्मक कक्षामा सहभागी भएबापत वार्षिकरुपमा सबैभन्दा बढी रकम बुझाउने पनि सोही कलेज हो । सो भाइरसको ंजोखिम हुन नदिन अस्पताललाई विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्