नेपालमा कोरोना परीक्षणको दायर बढाइँदै, दिनमै सयभन्दा बढीको नतिजा आउन थाल्यो



२३ चैत्र २०७६, काठमाडौं

नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायर बढाइँदैछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, मानवअधिकारकर्मी तथा नागरिक समाजलगायतको दवाबपछि कोरोना परीक्षणको दायरा बढाइँदै लगिएको हो ।

नेपालमा कारोना जँचाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको र दिनमै सयभन्दा बढीको नतिजा आउन थालेको छ। यसै क्रममा आज (आइतबार) ११५ जनाको नमुना (स्वाब) परीक्षणको नतिजा आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजका नतिजा सबै नेगेटिभ अर्थात् कोरोना संक्रमण नरहेको पुष्टि भएका छन् । यो गरेर अहिलेसम्म नेपालमा कोरोना परीक्षण गराउनेको कूल संख्या एक हजार ६ सय ५६ पुगेको छ ।

जसमध्ये ९ जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार अपराह्न आफ्नो वेवसाइटमा गरेको अपडेटअनुसार आइतबार आएका ११५ रिपोर्टमध्ये सबैभन्दा बढी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ८८ नतिजा आएको हो ।

काठमाडौं उपत्यकाबाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, सुर्खेत प्रादेशिक अस्पतालबाट १२ र सेती प्रादेशिक अस्पतालबाट ६ जनाको रिपोर्ट आइतबार आएका हुन् ।

आइतबारै ५० जनाको रिपोर्ट आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । आजसम्म आएका कूल परीक्षणको नतिजामध्ये १५ सय २० वटा नेगेटिभ अर्थात् कोरोना भाइरस नदेखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्