१४ जनामा गरिएको कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल [भिडिओ]



२२ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)बाट बढी ग्रसित बनेको चीनले १७ मार्चमा कोरोना भाइरसविरुद्ध बनाएको भ्याक्सिनको क्लिनिकल ट्रायल शुरु गरेको थियो ।

चीनले पहिलो पटक मानिसमा परीक्षण गरेको थियो । अब भने परीक्षणको सफल रिजल्ट आउन शुरु भएको छ । चीनले क्लिनिकल ट्रायलका लागि १ सय ८ जना व्यक्तिलाई चुनेको थियो ।

उनीहरु कोरोनाविरुद्धको अभियानमा भोलिन्टियरको रुपमा परीक्षणमा आएका थिए । ती व्यक्तिमध्ये १४ जनामा भ्याक्सिन परीक्षणको अवधि सकिएको छ । उनीहरु आ-आफ्नो घर गएका छन् ।

चिनियाँ वैज्ञानिकहरुले कोरोनाविरुद्धको परीक्षण चीनको वुहान शहरमा गरेका थिए । परीक्षणपछि १४ जना पूर्ण रुपमा ठिक भएका छन् । उनीहरुलाई अहिले पनि मेडिकल निगरानी राखिएको बताइएको छ ।

उक्त भ्याक्सिनलाई चीनका सबैभन्दा सिनियर साइन्टिस चेन वी र उनको टोलीले बनाएको थियो । परीक्षणमा संलग्न १ सय ८ जनामा १८ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिहरु रहेका थिए ।

१०८ जनालाई तीन समूहमा विभाजन गरिएको थियो । तीन समूहका व्यक्तिलाई फरक फरक भ्याक्सिनको मात्रा दिइएको थियो । उनीहरुलाई वुहान स्पेशन सर्भिस हेल्थ सेन्टरको क्वारेन्टाइनमा परीक्षण गरिएको डेलीमेलले जनाएको छ ।

यी सबै व्यक्तिलाई अलग अलग दिनमा भ्याक्सिन दिइएको थियो । यी सबैजना क्वारेन्टाइनको समय पूरा हुने समयसम्म त्यही बस्नु परेको छ । १४ जना बाहेकका व्यक्ति अहिले पनि त्यहीँ रहेका छन् ।

ती १४ जनालाई भने घर पठाइएको छ । अब उनीहरुलाई असर देखिन्छ कि भनेर केही महिनासम्म मेडिकल निगरानीमा राखिनेछ । उनीहरुको हरेक दिन मेडिकल टेष्ट गरिएको छ ।

चिनियाँ वैज्ञानिकहरुले ती व्यक्तिमा कोरोनाविरुद्ध लड्ने पूर्ण क्षमताको विकास भएपछि उक्त भ्याक्सिनलाई बजारमा पठाउने तयारी गरेका छन् । अहिले उनीहरुको शरीरमा एन्टिबडीको अवस्था हेरिएको छ ।

चिनियाँ वैज्ञानिकहरुले आफूहरुको पहिलो परीक्षण सफल भएको जनाएका छन् । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर। श्रोतः डेली मेल|

प्रतिक्रिया दिनुहोस्