
२१ चैत्र २०७६, काठमाडौं
पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको बताइएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । तर, ती व्यक्तिको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाएर परीक्षण गर्दा भने नेगेटिभ आएको बताइएको छ ।
कोरोनाको परीक्षण कम्तीमा तीन पटकसम्म गरिने हुँदा पहिलो परीक्षणमा पोजिटिभ देखिएपछि पोखराले दोस्रो परीक्षणका लागि काठमाडौं पठाएको थियो ।
दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।
रिपोर्ट पोजिटिभ नआएको दावी
उता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले भने पोखरामा कुनै पनि व्यक्तिको रिपोर्ट हालसम्म पोजिटिभ नआएको दावी गरेका छन् ।
केही सञ्चारमाध्यमले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको हवाला दिँदै कास्कीमा एकजना व्यक्ति कोरोनाबाट संक्रमित भएको जनाएका छन् ।
पोखरामा दुई दिनअघिदेखि कोरोना परीक्षण शुरु भएको हो । त्यहाँबाट आएका नतिजाको पुष्टि गर्न हालसम्म चारओटा नमूना काठमाडौं पठाइसकिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।





