उपचाररत दुई कोरोना संक्रमितको दोस्रो रिपोर्ट पनि ‘पोजेटिभ’



२० चैत्र २०७६, काठमाडौं

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत कोभिड १९ (कोरोना भाइरस) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिने भएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको गत मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो । तर बुधबार (हिजो) रिपोर्ट पोजेटिभ आएपछि पुनः स्वाब संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालले जनाएको छ ।

गत ४ चैतमा फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीय युवतीमा र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले टेकुमा उपचाररत छन् ।

दुवैका स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्