इटलीमा ६ महिनाकी शिशु र १०२ वर्षीया महिला पनि बाँचे ‘कोरोना’बाट



१९ चैत्र २०७६ काठमाडौं

उत्तर इटलीमा ६ महिनाकी शिशु र १०२ वर्षीया महिलाले कोरोना जिती बाँचेका छन् ।

६ महिने शिशु लियोनार्दो र १०२ वर्षीया इटालिका ग्रोन्दोना दुवै अस्पतालमा लामो समयसम्म उपचार गराएर कोरोनाबाट निको भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लियोनार्दो लोम्बार्डी क्षेत्रको कोर्बेत्ता शहरमा रहेको घर फर्किसकेका छन् । उनले कोरोना भाइरसविरुद्ध ५० दिनसम्म संघर्ष गरको थिए ।स्थानीय मेयर मार्को बालारिनीले शिशु लियोनार्दो आशाको अनुहार भएको बताउँदै त्यस क्षेत्रको आत्मविश्वास बढाएकोमा धन्यवाद दिए ।

“म एकदमै चिन्तित थिएँ । विशेषगरीः राति । कुनै पनि आमाले यस्तो स्थिति भोग्नु नपरोस् ।” शिशुकी आमाले भनेकी छिन् । शिशुलाई ज्वरो आएपछि र मुटुको चाल बढेपछि कोरोनाको आशंका गरेको आमाले बताइन् ।

उता १०२ वर्षीया ग्रोन्दोनालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले उनलाई अस्पतालबाट छुट्टी दिइएको छ र भाइरसले उनीसामु आत्मसमर्पण गरेको चिकित्सकहरूले बताएका छन् ।

‘हामीले उनलाई ‘अमर’ नाम दियौं,’ डा भेरा सिकबाल्डीले बताइन् । महाव्याधिको सामना गरिरहेका वृद्धहरूका लागि ग्रोन्दोना आशाको किरण भएको डा. सिकबाल्डीको भनाइ छ ।

इटलीको नेसनल हेल्थ इन्स्टिच्युटले कोरोनाभाइरस लागेर मर्ने मानिसको औसत आयु ७८ रहेको देखाउँछ । एजेन्सीको सहयोगमा-

|तस्वीरमा कोरोनाबाट बाँचेका दुई जना । श्रोतः निउजफ्लास|

प्रतिक्रिया दिनुहोस्