न्यूयोर्कमा क्वारेन्टाइन आवश्यक छैन : ट्रम्प



१६ चैत्र २०७६, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामा ‘लकडाउन्’ गर्ने निर्णय बेठिक रहेको बताएका छन् ।

स्थानीय राजनीतिक नेताहरु र स्थानीयले कोभिड १९ (कोरोना भाइरस)को महामारी बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले ‘लकडाउन्’ समस्याको समाधान नरहेको जिकिर गरेका छन् ।

तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले शनिबार नै स्थानीयलाई अत्यावश्यक बाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन सुझाव दिएको छ ।

“न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन ।” ट्रम्पले ट्वीटरमा भनेका छन् । स्थानीयलाई अन्य राज्य र शहरको भ्रमणमा जाँदा वा न्यूयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नुपर्दछ भन्ने चौतर्फी माग गरिए पनि राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दावी गरे ।

राष्ट्रपति ट्रम्पले यसअघि अरु राज्यहरु खासगरी फ्लोरिडाले चिन्ता व्यक्त गरेपछि आवातजावत खुलै राख्नु पर्ने धारणा अघि सारेका थिए ।

राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, ‘ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सुझाव तथा न्यूयोर्क, न्यूजर्जी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सिडीसीलाई कडा ट्राभल एड्भाइजरी (यात्रासम्बन्धी सल्लाह) जारी गर्न आदेश दिएको छु ।’

त्यसलगत्तै सिडीसीले तत्काल लागू हुनेगरी १४ दिनसम्म अतिआवश्यक परेको अवस्थामा बाहेक तीनवटा राज्यमा यात्रा नगर्न र घरभित्रै बस्न तीनै राज्यका स्थानीयलाई आग्रह गरेको छ ।

संरा अमेरिकामा भेटिएका कूल संक्रमित व्यक्तिहरु १ लाख २४ हजारमध्ये न्यूयोर्कमा मात्र ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । यस्तै न्यूयोर्कमा शनिबार मात्र १५५ जनाको मृत्यु भएको छ ।

योसँगै न्यूयोर्कमा कूल मृतकको संख्या ६७२ जना पुगेको छ ।

|तस्वीरमा अमेरिकाका राष्ट्रपति ट्रम्प। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्