हिलसाइडको वक्तृत्वकलामा केफका आयुष पहिलो



२६ माघ २०७६, पोखरा

पोखराको मालेपाटनस्थित हिलसाइड इङ्लिस स्कुलले आफ्नो रजत जयन्तीका सन्दर्भमा शनिबार आयोजना गरेको कास्की जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा करुणानिधि एजुकेशन फाउन्डेशन (केफ), सिम्पानीका आयुष अधिकारी पहिलो भएका छन् ।

‘नेपालमा प्राविधिक शिक्षा र यसका चुनौतीहरु’ विषयक प्रतियोगितामा ११ विद्यालयका १८ जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा ज्ञान सरोवर बोर्डिङ स्कुल, हेमजाकी सरिस्मा बाँस्तोला, मदरल्याण्ड माविकी कृतिका थापा क्रमश: दोस्रो र तेस्रो भए भने केफकै जागृति अधिकारी र धर्मस्थली आधारभूत विद्यालयकी रन्जू दाहाल सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतियोगितामा उद्घोषण तथा भाषण कलाका प्रशिक्षक, गजलकार अनुराग अधिकारी, साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी र उत्प्रेरणा प्रशिक्षक भक्तराज रसाइली निर्णायक रहेका थिए ।

अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मिनप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोलाले बोली–बोली मात्र नभई कलासँग सम्बन्धित रहेको धारणा राखे । हरेक क्षेत्र र विधामा सफलताका लागि बोलीको प्रभावकारिता आवश्यक पर्ने भन्दै स्वतन्त्र पत्रकार सङ्घका संस्थापक अध्यक्षसमेत रहेका बाँस्तोलाले यस्ता प्रतियोगिताले जीवनमा सफल हुन प्रेरणा दिने बताए ।

संयोजक विष्णु हमालको सञ्चालनमा भएको कार्यक्रममा निर्देशक लीलाप्रसाद पराजुलीले स्वागत गरेका थिए । विद्यालयले आगामी फागुन २ गते हुने रजत जयन्तीका अवसरमा विजेता विद्यार्थीहरुलाई नगदसहितको पुरस्कार वितरण गर्ने प्रिन्सिपल सन्तोष लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्