कोरोना प्रभावित देशलाई अमेरिकाले १० करोड डलरसम्म सहयोग गर्ने



२५ माघ २०७६, काठमाडौं

कोरोना भाइरसको सामना गरिरहेका चीन र अन्य मुलुकलाई अमेरिकाले १० करोड डलरसम्मको आर्थिक सहायता गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। यस्तै उनले अमेरिकी प्रतिवद्धतासँग सहकार्य गर्न पनि थप मुलुकलाई आग्रह गरेका छन्।

बारम्बार चीनको आलोचना गरिरहने पोम्प्योले यस पटक चीनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्न तयार रहेको बताएका हुन्। अमेरिकाले चीनलाई प्रत्यक्ष तथा वहुपक्षीय संस्थाहरु मार्फत् पनि सहायता गर्नसक्ने पोम्प्योले जनाए।

यसअघि पोम्प्योले मानवअधिकार लगायत विषयमा चीनको कडा आलोचना गर्ने गर्थे। अमेरिकाले यसअघि नै १७ दशमलव ८ टन मास्क, गज, गाउन लगायत मेडिकल सामग्री चीनलाई सहयोग गरेको छ।

दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसबाट ३१ हजार मानिस संक्रमित छन्। ६ सय ३० जनाको मृत्यु भइसकेको छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्